नेकपा र कांग्रेस कार्यकर्ता बिच झडप, १८ जना घाइते

  ०७७ असार १५ गते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र नेपाली  कांग्रेस कार्यकताहरू बिच धनकौल गाउँपालिका–२ हरकठवामा असार १४ गते साँझ झडप हुँदा गोलीको छर्रा लागेर १५ जना घाइते भएका छन् । झडपका क्रममा तीन जनालाई चोटपटक लागेको छ ।

गोलीको छर्रा लागी घाइते हुनेहरूमा  कांग्रेस कार्यकर्ता धनकौल गाउँपालिका–२ हरकठबाका ६५ वर्षीय रामचन्द्र हजारी, ५५ वर्षीय नागेश्वर सहनी, २४ वर्षीय मेहबुब अंसारी, २५ वर्षीय राकेशकुमार सिंह, २३ वर्षीय राम बिनय हजारी, ३४ वर्षीय बिलास राय, २४ वर्षीय बिजय साह, २२ वर्षीय सुरजकुमार सिंह, २५ वर्षीय सुनिल महतो, ३५ वर्षीय बिजय सिंह, २५ वर्षीय मोहमद शेख इन्ताज, १९ वर्षीय सुनिल साह, २३ वर्षीय नितेश कुमार सिंह, १९ वर्षीय रंजित यादव, ३१ वर्षीय अरुण यादव रहेका छन् ।

घाइते उनीहरूलाई शरिरका विभिन्न भागमा गोलीको छर्रा लागेको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणी पोखरेलले जानकारी दिनु भयो ।

त्यसैगरी झडपमा नेकपाका कार्यकर्ता धनकौल–२ हरकठवाका ५५ वर्षीय लक्ष्मण साह, ४३ वर्षीय रधिर रंजन बर्मा र ४७ वर्षीय बैधनाथ सहनी घाइते भएका छन् ।

घाइते सबैको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको एसपी पोखरेलले बताउनु भयो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल अश्रु ग्याँस प्रहार गरेको एसपी पोखरेलले जानकारी दिनु भयो ।

रामनगर गाउँपालिका–४ निवासी नेकपाका स्थानीय नेता ६० वर्षीय रामजुलुम यादवको असार ७ गते हत्या भएको घटनालाई लिएर नेकपाले धनकौल गाउँपमलिकामा असार १४ गते साँझ निकालेको र्‍यालीकै क्रममा झडप भएको हो ।

सो घटनापछि प्रहरीले रामनगर गाउँपालिका–४ का वडा अध्यक्ष तथा कांग्रेस नेता रामनरेश महतोलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यस घटनाबारे सबै भन्दा पहिले प्रहरीलाई सूचना दिने वडा अध्यक्ष महतोलाई नै बिना कारण राजनैतिक दवाबमा गिरफ्तार गरेको कांग्रेसका युवा नेता राजेश कुमार सिंहले बताउनु भयो ।

वडा अध्यक्ष रामनरेस महतोसँग बाटो बनाउने विषयमा विवाद भएपछि नेकपा कार्यकर्ता रामजुलुमको हत्या भएको भन्दै र्‍याली निकालिएको र घटना शङ्कास्पद भएकोले छानबिन गर्न माग गरेको नेकपाका जिल्ला सदस्य मलंगवा नगरपालिका–६ खुटौनाका समिम खान पठानले बताउनु भयो  ।


बुधन साह