नेकपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी ‘बेपत्ता’ बनाएको आरोप, खोजीका लागि अधिकारकर्मीसमक्ष याचना !

  ०७६ वैशाख १३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा प्रहरीले देव गुरूङ र सुनिता किराँतीलाई गिरफ्तार गरी ‘बेपत्ता’ बनाएको आरोप पीडित परिवारले लगाएको छ ।

९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत परियोजनामा विष्फोट गराएको आरोपमा ०७५ चैत १३ गते काठमाडौँबाट गुरूङ र किराँतीलाई प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाएको भनी पीडित परिवारले आरोप लगाएको हो ।

देव र सुनितालाई गिरफ्तार गरेको महिना दिन भइसक्दा समेत प्रहरीले उनीहरूको बारेमा केही जानकारी नदिएको पीडित पक्षको आरोप छ ।

जिल्ला इञ्चार्ज देवलाई काठमाडौँको कोटेश्वर र जिल्ला समिति सदस्य सुनितालाई गौशलाबाट प्रहरीले गिरफ्तार गरेको पीडित पक्षको भनाई छ ।

गिरफ्तारीमा परेका देव र सुनिता विप्लवकै कार्यकर्ता भएको प्रहरी स्रोतको दावी छ । पाँचखपन नगरपालिका इञ्चार्ज भीम राई ‘ज्वाला’ करिब एक महिनाअघि मादीबाट गिरफ्तार भएपनि उनलाई प्रहरीले सार्वजनिक गरेको छैन ।
काठमाडौँबाट गिरफ्तारीमा परेकी सुनिताका बारेमा प्रहरीले आफूहरूलाई केही जानकारी नदिएको भन्दै उनकी आमा सोमालक्ष्मी राईले छोरीलाई प्रहरीले बेपत्ता बनाएको भन्दै खोजी गरिदिन अधिकारकर्मी समक्ष याचना गरेकी छन् ।

उनले अधिकारकर्मीसँग भनिन्–‘मेरो छोरी कहाँ कुन अवस्था छिन् ? भनेर प्रहरीलाई सोध्दा प्रहरीले यहाँ छैन भन्छ । छोरी खोज्न म कहाँ जाउँ ?’ परिवारजनले उनीहरूलाई सार्वजनिक गर्न माग गरेपनि हालसम्म कुनै जानकारी दिइएको छैन ।

हालसम्म प्रहरीले सङ्खुवासभाका विभिन्न स्थानबाट विप्लव नेतृत्वका नेकपाका १० जना कार्यकर्तालाई गिरफ्तार गरेको सो पार्टीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले भने कति जनालाई कसरी गिरफ्तार गरियो भन्ने जानकारी गराएको छैन ।

गिरफ्तार गरिएका विप्लवका कार्यकताकाबारेमा जानकारी लिँदा आफू र आफ्नो प्रहरी सङ्गठन ‘चेन अफ कमाण्ड’मा रहने भएकाले अहिले केही जानकारी दिन नसक्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सन्तोस राईले बताए ।

प्रहरीले कसलाई कुन समयमा गिरफ्तार गरेको एकिन जानकारी दिएको छैन । विभिन्न समयमा गिरफ्तार गरिएकाहरूलाई कहाँ, कुन ठाउँमा राखिएको छ भन्ने कसैलाई जानकारी दिइएको छैन ।


बाबुराम बास्तोला