निष्पक्ष र निर्भीक भई दृढतापूर्वक कार्य गर्न आयोगको निर्देशन

  ०७४ भदौ १६ गते

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मुख्य अनुगमनकर्ता टोली प्रमुखहरूलाई निष्पक्ष र निर्भीक भई दृढतापूर्वक कार्य गर्न निर्देशन दिएका छन् ।

भदौ १६ गते काठमाडौँ स्थित आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले असोज २ गते प्रदेश नम्बर २ मा सञ्चालन हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आयोगबाट २ नम्बर प्रदेशका आठ जिल्लामा खटिनु भएका मुख्य अनुगमनकर्ताको रूपमा नेपाल सरकारका विशिष्ट श्रेणी तथा राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले लोकतन्त्रलाई सुदृढ गर्नका लागि आवधिक निर्वाचनको आवश्यकता हुन्छ जसका लागि आउँदो मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसमेत गरी देशमा स्थिर सरकार र सम्वृद्धिको आधार निर्माण गर्न निर्वाचन नै महत्वपूर्ण रहेको बताए ।

'स्वच्छ निर्वाचनका लागि स्वच्छ आचरणको आवश्यकता पर्ने हुँदा आयोगले निर्वाचन आचारसंहिता तयार गरी लागू गरेको छ । आचारसंहितालाई सरकार, राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधिसहित सबै सरोकारवालाले पालना गर्नुपर्ने हुन्छ ।'-यादवले भने-'प्रदेश नम्बर २ मा बाढीको कारण प्राकृतिक विपत्ति परेकाले आचारसंहिता उल्लङ्घन नहुने गरी पीडितहरूलाई राहत उपलब्ध गराउनु पर्दछ ।'

आचारसंहिता उल्लघन गर्ने कसैलाई पनि आयोगले नछोडने बताउँदै उनले मनोनयन अवधि र मनोनयन पछिको समय बढी सम्वेदनशील हुने हुँदा विशेष चनाखो हुन पनि अनुगमनकर्ताहरूलाई निर्देशन दिए ।

कार्यक्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले सहभागीहरूलाई आफू खटिएको जिल्लामा राम्रो समन्वयको वातावरण बनाउन र निर्वाचन आचारसंहिता पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यसैबिच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त यादवले मङ्सिर १० गते र मङ्सिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्बन्धमा पूर्व प्रमुख निर्वाचन आयुक्तद्वय सुर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीसँग भदौ १६ गते आयोगको कार्यालयमा परामर्श गरेका छन् ।

सो क्रममा पूर्व प्रमुख निर्वाचन आयुक्तद्वयले छोटो समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले मतपत्र छपाइलगायतको व्यवस्थापन गर्न सकिने र मतदातालाई सहज हुने किसिमले मत्रपत्रको डिजाइन गर्न आयोगलाई सुझाव दिएका छन् । आयोगका आयुक्त इला शर्मा र नरेन्द्र दाहाल तथा आयोगका सचिव शङ्करप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

यसैगरी निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवको संयोजकतत्वमा आगामी मङ्सिर १० गते र मङ्सिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकको सहभागिता र उक्त निर्वाचनका लागि वैदेशिक समन्वय सम्बन्धमा छलफल भएको छ ।

छलफलमा अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्था तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा आवद्ध देशहरूका निर्वाचन व्यवस्थापन निकायहरूबाट पर्यवेक्षण गर्ने सम्बन्धमा छलफल भएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।


सुभाष साह