निष्पक्ष छानबिन गरी सिफारिस गर्न आयोगलाई द्वन्द्व पीडितहरूको आग्रह

  ०७४ असोज ५ गते

द्वन्द्वको समयमा भएका घटनाहरूको सम्बन्धमा निष्पक्ष रूपमा छानविन गरेर सिफारिस गर्न द्वन्द्व पीडितहरूले असोज ४ गते सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आग्रह गरेका छन् ।

द्वन्द्व पीडित साझा चौतारीले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र द्वन्द्वोत्तर अवस्थामा दिगो शान्तिका चुनौती विषयक छलफल कार्यक्रममा द्वन्द्व पीडितहरूले सत्य निरूपणका लागि निष्पक्ष हुन आग्रह गरेका हुन् ।

उनीहरूले अस्थिर राजनीतिक अवस्था, राजनीतिक प्रभाव र राज्यपक्ष दोषी भएका घटनामा निष्पक्ष छानबिनमा प्रभाव पार्ने र न्याय पाउन नसकिने हो कि भन्ने शङ्का व्यक्त गर्दै आयोगमा रहेर काम गर्ने सदस्यहरूलाई निष्पक्ष भएर काम गर्न आग्रह गरेका हुन् ।

द्वन्द्वको समयमा पीडित हुनेहरूले न्याय नपाए अझ पीडित हुने भन्दै आयोगले घटनाको सत्यता नबुझी सतही भएर छानबिन गर्न नहुनेमा उनीहरूको जोड थियो । द्वन्द्व पीडित नवराज चापागार्इँले आयोगले सिफारिस गर्ने समयमा शान्ति मन्त्रालय नै खारेज हुने जस्ता गतिविधिले र पीडितले न्याय पाउने आशा गुम्दै गएको भएपनि घटनाका बारेमा सत्यतथ्य जान्ने अधिकार द्वन्द्व पीडितहरूलाई हुनुपर्ने बताए ।

द्वन्द्व पीडित पवित्रा राईले आफ्नो पतिलाई घरबाट लगेर सुरक्षाकर्मीले हत्या गरेको भएपनि पछि समाचारमा दोहोरो भिडन्तमा मारिएको भन्ने आएकोले बाहिर आएको कुरा र यथार्थ फरक भएकोले आयोगले स्थलगत रूपमा अध्ययन गरेर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग प्रदेश नम्बर एकका सदस्य पेशलकुमार न्यौपानेले आयोगमा परेका उजुरीमा निष्पक्ष रूपमा छानबिन गरेर सत्यतथ्य पत्ता लगाउने र सिफारिस गर्ने प्रतिबद्धता जनाए ।

उनले आयोगका सदस्य कुनै पार्टी वा अन्य पक्षबाट प्रभावित नभएको भन्दै छानबिन निष्पक्ष हुनेमा शङ्का नगर्न द्वन्द्व पीडितहरूलाई आग्रह गरे । सत्य निरूपण तथा मेलमिलाप आयोग प्रदेश नम्बर एकमा ७ हजार उजुरी परेको समेत सदस्य न्यौपानेले जानकारी दिए ।


इन्दिरा भट्टराई