निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस नेता पौडेल गिरफ्तार (तस्विरहरु सहित)

  ०७७ मङ्सिर १७ गते

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले दमौलीबाट पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मङ्सिर १७ गते दिउँसो गिरफ्तार गरेको छ ।

व्यास नगरपालिकाको वडा नम्बर १ लाई वडा नम्बर १० र ११ सँग जोड्ने तालघरेको बुल्दी खोलमा निर्माण गरिएको पक्की पुलको उद्घाटनको विषयमा विवाद भई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबिच सम्भावित झडपलाई रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्सिर १७ गते दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रमस्थल वरपर निषेधाज्ञा जारी गरेको थियो ।

photo20201202tanahu (1)

गण्डकी प्रदेश सरकार मातहत निर्माण गरिएको उक्त पुल कुनै सरकारी कार्यालयसँग समन्वय र परामर्श नै नगरिकन व्यास नगरपालिकाले कांग्रेस नेता पौडेलबाट उद्घाटन गराउने कार्यक्रम आयोजना गरेको भन्दै नेकपा निकट राष्ट्रिय युवा सङ्घका कार्यकर्ताले विरोध प्रर्दशन गर्ने तयारीपछि प्रशासनले सम्भावित झडप रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

तर, निषेधाज्ञाको उल्लङ्घन गर्दै नेता पौडेल सयौँ कार्यकर्ताको साथमा पुल उद्घाटन गर्न गएपछि कार्यक्रमस्थल नजिकैबाट प्रहरीले पौडेललाई गिरफ्तार गरेको हो । गिरफ्तार भएका पौडेल साँझ साढे ५ बजे रिहा हुनु भएको छ ।

photo20201202tanahu (2)

नेता पौडेलले भने सरकारले सर्वसत्तावादी चरित्र देखाएको टिप्पणी गर्नु भएको छ । उहाँले लोकतान्त्रिक चरित्रको धज्जी उडाउँदै कम्युनिष्ट सरकारले हिजो कांग्रेसले गरेका विकासलाई समेत देख्न नसकेको आरोप लगाउनु भयो ।

उक्त पुल निर्माण सम्पन्न भएपनि मर्मत सम्भारकै क्रममा रहेको हुँदा हाललाई उद्घाटन कार्यक्रम स्थगन गर्न पुर्वाधार विकास कार्यालय तनहुँले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि प्रशासनले पनि उक्त कार्यक्रम स्थगन गर्न व्यास नगरपालिका र नेपाली कांग्रेस तनहुँलाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो ।

photo20201202tanahu (3)

तर, प्रशासनको अनुरोध र पत्राचारको बेवास्ता गर्दै नेपाली कांग्रेस नेतृत्वको व्यास नगरपालिकाले एकातर्फी र जबरजस्ती रूपमा पुल उद्घाटनको कार्यक्रम राखेको नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीको आरोप छ ।

सम्भावित झडपको स्थिति भएपछि प्रशासनले निषेधाज्ञा लगाई ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले मङ्सिर १७ गते बिहान सूचना प्रकाशन गरी बुधबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म व्यास नपाको वडा नम्बर १ र वडा नम्बर १० को पृथ्विराजमार्गमा चल्ने सवारी साधन बाहेक पश्चिम गल्बुवेशी, बुल्दीखोला पुल, उत्तर रानीगाउँ, पुर्व घाँसीकुवा, मुसेखोला र दक्षिण अम्रेनीको चारकिल्ला भित्र सभा सम्मेलन र जुलुस प्रदर्शन गर्न र पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गर्नु भएको थियो ।

photo20201202tanahu (5)

कोभिड–१९ को जोखिम कायमै रहेको र सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम समयसमयमा जारी गरेका आदशेमा सभा सम्मेलन र जुलुस प्रर्दशनमा रोक लगाइरहेको तथा जिल्ला प्रशासन कार्यालयले समेत सभा सम्मेलन र जुलुस प्रर्दशन नगर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।

photo20201202tanahu (7)

यस्तो अवस्थामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा व्यास नपाको वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न लागेकोमा पुर्वाधार विकास कार्यालय तनहुँले पुल उद्घाटन कार्यक्रम स्थगन गर्न व्यास नगरपालिकालाई अनुरोध गरेको र जिल्ला प्रशासन कार्यालयबाट समेत उद्घाटन कार्यक्रम नगर्न पत्राचार भएको अवस्थामा जसरी पनि पुल उद्घाटन गरी छाड्ने पक्ष र त्यसको विरोधमा राष्ट्रिय युवा सङ्घले विरोध प्रर्दशन गर्ने सूचना पाएको भन्दै सम्भावित झडप रोक्न र शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

photo20201202tanahu (6)

निषेधाज्ञाको उल्लङ्घन हुने गरी कसैले कार्य गरेमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

वरिष्ठ नेता पौडेलकै नेतृत्वमा निषेधाज्ञा तोडी कार्यक्रम आयोजना गर्न खोजिएपछि प्रहरीलाई स्थिति सम्हाल्न हम्मेहम्मे परेको प्रहरीले जनाएको छ ।

photo20201202tanahu (8)

सो क्रममा केहीबेर प्रहरी र कांग्रेसका कार्यकर्ताबिच धकेलाधकेल समेत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर तथा केही अश्रुग्याँस प्रहार गरी आन्दोलनलाई तिरवितर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले प्रशासनले जारी गरेको निषेधाज्ञाको प्रहरीले कार्यान्वयन मात्रै गरेको बताउनु भयो ।

photo20201202tanahu (9)

आन्दोलनका क्रममा नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मी आचार्य घाइते हुनु भएको छ । आचार्यको टाउकोमा चोट लागेको छ । नेपाली कांग्रेस कार्यकर्ताले सडक अवरुद्ध गरी टायर बाली प्रदर्शनसमेत गरेका छन् । जसका कारण दिउँसो २ बजेपछि साँझ ६ बजेसम्म पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो ।

photo20201202tanahu (10)

पुल उद्घाटनको विषयलाई लिएर मङ्सिर १७ गते दिनभर दमौली बजार तनाबग्रस्त जस्तै बनेको थियो । नेकपा निकट राष्ट्रिय युवा सङ्घ र नेपाली कांग्रेस निकट नेपाल तरुण दलले मोटरसाइकल र्‍यालीमार्फत आआफ्नो शक्ति प्रदर्शन गरेका थिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय घेराउ गर्न गएका राष्ट्रिय युवा सङ्घका जिल्ला अध्यक्ष इश्वर बस्याल, नेकपा व्यास नपा वडा नम्बर १ कमिटीका अध्यक्ष ज्ञानेन्द्र बसौला, सचिव बादल आले, सदस्य कृष्ण भट्टलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

photo20201202tanahu (11)

उनीहरुलाई पनि जिल्ला प्रहरी कार्यालयमा नै राखिएको थियो । गिरफ्तार गरिएका सबैलाई साँझ ६ बजे रिहा गरिएको छ ।

नेपाली कांग्रेसका सभापतिप शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा र भर्त्सना गर्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ-'वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष६लाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।'

photo20201202tanahu (4)


प्रकाशचन्द्र भट्टराई