निर्वाचन सुरक्षा व्यवस्था कडा बनाऊः रामा आयोग

  ०७४ मङ्सिर १८ गते

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको दोश्रो चरणको दिन नजिकिँदै गर्दा तेह्रथुम, स्याङ्जा, र्सलाही, पाल्पा, डडेल्धुरा, कैलाली जिल्लालगायत राजधानी मै उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भई उम्मेदवार तथा दर्जनौँ सर्वसाधारण व्यक्तिहरू घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बम विष्फोटबाट घाइते भएकाहरूको अवस्था बुझ्न आयोगको टोली परिचालन गरिएको पनि आयोगले जनाएको छ । 'राजनीतिक दलका चुनावी कार्यक्रम एवम् उम्मेदवारहरूलाई लक्षित गरी भएका सृङ्खलाबद्ध बम आक्रमणका घटनाहरूले निर्वाचन सुरक्षा व्यवस्था कमजोर देखिन्छ ।'-आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

'यी घटनाहरूबाट मानव अधिकारको विश्वव्यापी घोषणा पत्र-१९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध-१९६६ लगायतका नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू, नेपालको संविधानलगायतका कानुनहरू तथा शान्तिपूर्ण र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगबाट दिइएको निर्देशनहरू समेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिन्छ ।'-विज्ञप्तिमा उल्लेख छ ।

बम आक्रमणका घटनाहरूमा वृद्धि हुँदै जाँदासमेत वास्तविक दोषी पहिचान हुन नसक्नुले निर्वाचन सुरक्षामा गम्भीर चुनौति खडा भएको आयोगले जनाएको छ ।

आयोगले राज्यका सबै सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा  सम्पन्न हुने वातावरणको सुनिश्चितता गर्न तथा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचित हुन पाउने र जनप्रतिनिधि छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्न सम्बन्धित सबै पक्ष र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।


अनलाइन डेस्क