निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

  ०७४ कात्तिक २३ गते

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ४५ वर्षीय दलबहादुर खत्री 'जागृति' र जिल्ला सेक्रेटरी ३३ वर्षीय सन्तोष सुवेदी 'प्रयास' लाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले विशेष सुरक्षा निगरानीको क्रममा जिल्ला इञ्चार्ज खत्रीलाई सदरमुकाम लिबाङ र सेक्रटेरी सुवेदीलाई सुवर्णावती गाउँपालिका-३ मिझिङबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । मतदाताहरूलाई डरत्रास देखाएको आरोपमा उनीहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

निर्वाचन विरोधी गतिविधिमा लाग्ने जोकोहीलाई गिरफ्तार गर्ने सरकारको स्पष्ट निर्देशन भएकाले निर्वाचन विरोधी गतिविधि सिर्जना गर्ने र सुरक्षा व्यवस्थामाथि खतरा उत्पन्न गर्नेलाई नियन्त्रणमा राख्न सकिने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

यसैगरी प्रहरीले कात्तिक २२ गते रोल्पा नपा-२ सातदोबाटोमा गाडी चेकजाँचको क्रममा कटुवा पेस्तोलसहित माडी गाउँपालिका-३ का श्यामबहादुर घर्तीमगर र रामसिंह घर्तीमगरलाई पनि गिरफ्तार गरेको छ ।


माधवकुमार ओली