निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँच जना गिरफ्तार

  ०७४ असार ९ गते

स्थानीय तहको निर्वाचनलाई बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरूमा फाल्गुनन्द गाउँपालिका-४ का विजय नेम्वाङ, सोही गाउँपालिका-५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ रहेका छन् । यसैगरी, ताप्लेजुङ जिल्ला सिदिङबा गाउँपालिका-३ का मुस्कान लिम्बू र धनकुटा जिल्ला पाख्रिबास नगरपालिका-३ का सङ्घर्ष परियार रहेका छन् ।

आरोपितहरूलाई जिल्लाका विभिन्न स्थानबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले जानकारी दिए ।

आसन्न स्थानीय तहको निर्वाचनलाई बिथोल्ने तयारी गरिरहेको जानकारी पाएपछि आरोपितहरूलाई गिरफ्तार गरिएको इन्स्पेक्टर बस्नेतले बताए ।

यसअघि प्रहरीले सो पार्टीका जिल्ला इञ्चार्ज गोपालकुमार आचार्यसहित चार जना कार्यकर्तालाई जेठ ३ गते गिरफ्तार गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । जिल्ला प्रशासनको आदेशअनुसार जेठ २८ गते जनही ५ सय रुपियाँका दरले धरौटी बुझाई छुटे लगत्तै छुटेकै स्थानबाट प्रहरीले पुनः गिरफ्तार गरेका थिए ।


मङ्गल बेघा