निर्वाचन मानव अधिकारको मेरूदण्ड होः वक्ताहरू

  ०७४ जेठ ३१ गते

स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्रतापूर्वक भाग लिन पाउनु उनीहरूको नैसर्गिक मानव अधिकार रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा जेठ ३१ गते आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् ।

Photo20170614Rautahat

जिल्लामा रहेका विभिन्न मानव अधिकार सङ्घसंस्थाका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू, पत्रकार, वुद्धिजिवी तथा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको सो अन्तरक्रिया कार्यक्रममा निर्वाचनको महत्व, लोकतन्त्र र मानव अधिकार तथा आगामी स्थानीय निर्वाचनको सन्दर्भमा रौतहट जिल्लाको अवस्थाको बारेमा वक्ताहरूले आआफ्नो धारण राखेका थिए ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहको निर्वाचन अहिलेको प्रमुख आवश्यकता रहेको विचार व्यक्त गर्दै निर्वाचनमा आफ्ना प्रतिनिधि छान्न पाउनु नागरिकको मौलिक अधिकार रहेको र यसलाई कसैले कुनै पनि बहानामा रोक्न नहुने विचार व्यक्त गरेका थिए ।

Photo20170614Rautahat1

अध्यक्ष प्याकुरेलले आवधिक रूपमा आफ्ना प्रतिनिधि छान्न पाउनु नागरिकको मौलिक अधिकार भएको बताए । उनले नेपालको संविधानमा १ सय ११ बुँदामा संशोधन गर्नुपर्ने आफूले पाएको तर समय अनुसार उक्त संशोधन के के हो ? भनी सार्वजनिक गर्ने बताउँदै संविधान संशोधनको नाममा जनताले आफ्ना प्रतिनिधि चुन्न पाउने हकको कतैबाट पनि बाधा व्यवधान हुन नहुने बताए । इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले जनसङ्ख्या मात्र राज्य नहुने बताउँदै भूगोललाई पनि आधार बनाइनु पर्नेमा जोड दिए । यदि जनसङ्ख्यालाई मात्र आधार मानेर स्थानीय तह निर्धारण गर्ने हो भने काठमाडौँमा मात्र ४० ओटा स्थानीय तह हुने इन्सेकका अध्यक्ष प्याकुरेलले बताए ।

Photo20170614Rautahat2

कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले निर्वाचनको अस्तित्व रहने गरी निर्वाचन हुनु पर्नेमा जोड दिए । उनले निर्वाचन रोक्दै जाने हो भने प्रतिगमनको खतरा बढदै जाने बताउँदै लोकतान्त्रिक पद्धतिप्रतिको आस्थालाई मर्न दिन नहुने बताए ।

नेपाल मानव अधिकार सङ्गठन रौतहटका अध्यक्ष डा. योगेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिवप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार गणेश बस्नेत, महिला सुरक्षा दवाव समूहका अध्यक्ष देवकी नेपाल, मानव अधिकार एलाइन्सका केन्द्रिय कोषाध्यक्ष प्रमोद चौधरी, नेपाल वार एशोसिएसन रौतहटका अध्यक्ष अनन्त अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अखिलेश्वर चौधरी लगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।


विपिन गौतम