निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरका रुपमा नलिनुस्ः डा यादव

  ०७४ कात्तिक २३ गते

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले हलुका र रहरका रुपमा नलिई स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह गरेको राससले जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमतिप्राप्त राष्ट्रिय सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

निर्वाचनको पर्यवेक्षण नजिकका जिल्ला र शहरमा मात्र नभई दुर्गम र माथिल्लो भेगमा समेत गर्न आवश्यक रहेको बताउँदै उनले भने-“निर्वाचन पर्यवेक्षणको काम निकै जिम्मेवार र जटिल विषय हो । पर्यवेक्षण सूक्ष्म र बृहत् रुपमा हुनुपर्छ । निर्वाचनलाई आयोगको व्यवस्थापनका रुपमा मात्र नहेरी हाम्रो जिम्मेवारी र कर्तव्य हो भन्ने सोच सबै सरोकारवालामा हुन आवश्यक छ ।”

सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वदेशी तथा विदेशी पर्यवेक्षकले स्वतन्त्र र निष्पक्ष भएर गरिने पर्यवेक्षणबाट उम्मेदवार, मतदाता र सरोकार भएकाहरु सतर्क हुने र त्यसबाट निर्वाचनलाई सहयोग पुग्ने बताए ।

आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनमा एकरुपता ल्याउन र एउटै बुझाइ होस् भनेर प्रशिक्षणको आयोजना गरिएको जनाउँदै पर्यवेक्षण आचारसंहिताभित्र रहेर कार्यसम्पादन गर्न सुझाव दिए । आगामी निर्वाचनका लागि पर्यवेक्षण गर्न आयोगले स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्दं (इन्सेक)ले झण्डै ५ सय पर्यवेक्षकलाई ७६ जिल्लामा परिचालन गर्न लागेको छ ।


अनलाइन डेस्क