निर्वाचन आयोगद्वारा पूर्व गृहमन्त्री निधिसँग स्पष्टिकरण माग

  ०७४ भदौ २९ गते

निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग भदौ २८ गते स्पष्टिकरण सोधेका छन् ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका निधिलाई २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

आयोगका अनुसार भदौ २५ गते जनकपुरमा आयोजित चुनावी कार्यक्रममा पूर्व उपप्रधान एवम् गृहमन्त्री निधिले काङ्ग्रेसको चुनाव चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएका थिए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत कानुनी कारबाही किन गर्नु नपर्ने हो ? भन्दै २४ घण्टा भित्र आयोग समक्ष स्पष्टिकरण पेश गर्न भनेको छ ।

नेपाली काङ्ग्रेसले बालबालिका प्रयोग गर्नुको साथै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै भदौ २८ गते जिल्ला अध्यक्ष रामसरोज यादवलाई समेत आयोगले स्पष्टिकरण सोधिएको नेता यादवले स्वीकार गरे । तर, निधिको विषयमा आफूलाई जानकारी नरहेको जिल्ला अध्यक्ष यादवले बताए ।


विनोदकुमार रविदास