निर्वाचन आयोगद्वारा आचारसंहिता पालनाका लागि सरकारलाई सात बुँदे निर्देशन

  ०७४ भदौ १५ गते

निर्वाचन आयोगले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई हेलिकप्टर चढ्नदेखि विदेश भ्र्रमणमा जानसम्म रोक लगाउने गरी सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगको बैठकले आगामी मङ्सिर १० र २१ गते गर्न लागिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी ढङ्गले सम्पन्न गर्न सात बुँदे निर्देशन दिँदै हेलिकप्टर चढ्नदेखि विदेश भ्रमणमा जानसम्म रोक लगाएको हो ।

प्रधानमन्त्रीले हेलिकप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिनु पर्ने भन्दै आयोगले भदौ १५ गते देखि नै निर्वाचन आचारसंहिता लागू भइसकेकाले निर्देशनहरूलाई कडाइका साथ पालना गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निर्देशनका विषयमा पत्राचारसमेत गरेको छ । सरकारका मन्त्रीहरू तथा र्सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी काममा हेलिकप्टर प्रयोग नगरी निजी हेलिकप्टर प्रयोग गर्न भने पाउने छन् । सोका लागि समेत आयोगको पूर्व  सहमति लिएर मात्र प्रयोग गर्न आयोगले भनेको छ ।

आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी ढङ्गले सम्पन्न गर्न सरकारलाई सात बुँदे निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

'आयोगले निर्देशनमा राजनीतिक नियुक्ति, कर्मचारीहरूको सरुवा, विदेश भ्रमण नगर्न, बजेट रकमान्तर, हेलिकोप्टर प्रयोग लगायतका गतिविधि नगर्न सरकारलाई निर्देशन दिएको छ ।'-प्रवक्ता ढकालले भने ।

तर, राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा नै जानु पर्ने अवस्थामा भने आयोगबाट सहमति लिन सकिने आयोगले जनाएको छ । बैठकपछि आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ-'यूएन, सार्कलगायतका अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय सङ्गठनहरूमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्ने बाहेक अन्य वैदेशिक भ्रमणमा रोक लगाउने तथा राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनु नै पर्ने भए स्वीकृतिका लागि निर्वाचन आयोगमा सहमति माग गर्ने ।'

यस्तै प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयहरूमा वा राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्व स्वीकृति लिन सकिने समेत आयोगले जनाएको छ । सो बाहेकका अन्य अवस्थामा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधनमा भने आयोगले सहमति दिने छैन ।


सुभाष साह