निर्वाचन आचारसंहिता निर्माणमा आयोग फराकिलो हुनुपर्छः अध्यक्ष प्याकुरेल

  ०७४ मङ्सिर १४ गते

निर्वाचान आचारसहिंता धेरै नै उल्लङ्घन हुने गरेकाले निर्वाचन आयोग फराकिलो हुनु पर्ने इन्सेकका अध्यक्षसमेत रहेका स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सह-संयोजक सुबोधराज प्याकुरेलले बताए ।

Photo20171130Dhanusha

जताततै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको र निर्वाचन आयोग निरिह भई कसैलाई कुनै कारबाही गर्न नसकेकोले गुनासोहरू विभिन्न मिडिया र नागरिक समाजबाट आउने गरेकोले अध्यक्ष प्याकुरेलले सो कुरा बताएका हुन् ।

हिजो साँझ जनकपुरमा आयोजित स्वच्छ निर्वाचनका लागि नागरिक अभियानसम्बन्धी कार्यक्रममा धनुषामा धेरै नै निर्वाचन आचारसंहिता उल्लङ्घन भए पनि सम्बन्धित निकाय मौन भएको सहभागिहरूले गुनासो गरेका छन् ।

स्थानीय तहको चुनाव भन्दा बढी समाजिक सहिष्णुता, धार्मिक र जातीय विकृति बढाउने किसिमले समाजिक सञ्जाल तथा चुनावी सभामा बोल्न नहुने युवा अभियन्ता अशोक साहले बताए ।

धनुषामा कमजोर तथा गरिब वर्गलाई आफूलाई मत नदिए जे पनि गर्ने भनी धम्की दिनु, जेलमा रहेको अभियुक्तहरूलाई चुनावको मुखमा रिहा गरिनु, जेलमा रहेका सञ्जय साहसँग रेडियो अन्तर्वार्ता लिनु, पैसाको चलखेल हुनु, उम्मेदवारहरूले भारतीय गाडी प्रयोग गर्नु, उम्मेदवारहरूले डमी उम्मेदवारहरू खडा गरी गाडीको प्रयोग गरिनु र डमी उम्मेदवारहरूले पनि पार्टीको झण्डा आआफ्नो प्रयोग गरिनु, आम जनताको घरको भित्तामा बिना सहमति पोष्टर पम्प्लेट टाँस्नु, बाटो छेकेर चुनावी कार्यक्रम गरिनु लगायतका आचारसहिंता विपरीत कार्य भइरहेको कार्यक्रममा सहभागिहरूले बताए ।

अपराधिक गतिविधिसमेत बढेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग जनकपुर निर्देशक दिपेन्द्रबहादुर सिंहले चिन्ता व्यक्त गरेका थिए ।

पत्रिकामा ७८७ इञ्चमा मात्र विज्ञापन छापिनु पर्नेमा सो नभएका पत्रकार वृजकुमार यादवले बताए । निर्वाचनले तोकेको खर्च प्रतिनिधि सभाको लागि २५ लाख रुपियाँ र प्रदेश सभाको लागि १५ लाख रुपियाँ खर्च उम्मेदवारहरूलाई नपुगेको सो रकम भन्दा बढी खर्च भइरहेकोले प्रष्ट देखिएको विविसीका पत्रकार वृजकुमार यादवले लगाए ।

महिलाहरूलाई जन्म दर्ता, विवाह दर्ता र नागरिकता नबनाएर भोटिङ अधिकारबाट वञ्चित गराएको ओरेककी निर्मला काफ्लेले बताइन् ।

निर्वाचन आचारसहिंतालगायतका कानुन अपूर्ण रहेको, अव्यवहारिक आचारसहिंता नबनाएकोले निर्वाचन आयोग आफैँ निरिह भएको डा. सुरेन्द्र लाभले बताए ।

राजनीतिक दलले बनाएको घोषणा पत्रको नियमन गर्ने तथा अनुगमन गर्ने निकाय नभएकोले राजनीतिक दलहरूले जे मनमा लाग्यो सोही अनुसारको चुनावी घोषणा पत्र निर्माण गरी जनतालाई बेवकुव बनाएको नागरिक समाजका अगुवा डा. लाभले आरोप लगाए ।

कार्यक्रममा मानव अधिकार सङ्गठनका अध्यक्ष समेत रहेका स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सहसंयोजक इन्द्र आर्यालले जन्मसिद्ध नागरिकको छोराछोरीले बङ्शजको आधारमा नागरिकता पाउनु पर्ने तर सरकारले अहिलेसम्म नदिएकोमा दुःख व्यक्त गरे । सो विषयमा कानुन तथा संविधानमा व्यवस्था भएपनि सरकारको कमजोरी रहेको बताए ।


विनोदकुमार रविदास