निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी

  ०७४ कात्तिक २२ गते

भिमसेन गाउँपालिका-३ धावामा उम्मेदवार सवार मोटरसाइकलमा पेस्तोल भेटिनु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काङ्ग्रेस, नयाँ शक्ति पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकले कात्तिक २२ गते उजुरी दर्ता गरएका छन् ।

'पेस्तोल बरामद गर्ने, पेस्तोल लिने मान्छे किन पक्राउ परेनन् ? भन्दै उजुरी आएको छ ।'-मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले भने ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै  मोटरसाइकललमा सवार माओवादी केन्द्रकी उम्मेदवार सुसिला सिम्खडालाई लिखित जबाफ माग गरेको छ ।

कात्तिक २१ गते भिमसेन गाउँपालिका-३ धावा पेस्तोल फेला परेको थियो । माओवादी केन्द्रकी समानुपातिक उमेदवार शुसिला सिम्खडा चढेको मोटरसाइकल चेकजाँजको क्रममा ९ एमएम को पेस्तोल र तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

बा ७३ प ३३८६ नम्बरको मोटरसाइकल चालकले चेकजाँचको क्रममा चालकले झोला फालेर भागेपछि पेस्तोल र गोली भेटिएको एसपी प्रकाश अधिकारीले बताए ।

गोलीसहित पेस्ताल बरामद भएपनि प्रहरीले मोटरसाइकलमा सवार भिमसेन गाउँपालिका-४ का गुणप्रसाद खनाललाई गिरफ्तार गर्न सकेको छैन । चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती