निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा एमाले विरूद्ध उजुरी

  ०७४ मङ्सिर १२ गते

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाहीको माग सहित मङ्सिर १२ गते आयोगमा उजुरी परेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्दै एमालेले आचारसंहिता उल्लङ्घन गरेको भन्दै काठमाडौँ महानगरपालिका वडा नं. ३२ का अमृत कार्कीले उजुरी दर्ता गराउँदै कारबाहीको माग गरेका हुन् ।

निर्वाचन आचारसंहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च र ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख भएकोमा मङ्सिर १२ गते विभिन्न चार राष्ट्रिय दैनिकमा आचारसंहिता विपरीत एमालेले प्रचारप्रसार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय दैनिकहरू कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट र नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित 'सुखी जनता, समृद्ध नेपाल, सुशासन र स्थिरताको लागि वामपन्थी सरकार' भन्ने सन्देश सहित छापिएको विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएको उल्लेख गरिएको छ । यसैगरी सोही सूचना आजैको राजधानी दैनिकको तेस्रो पृष्ठमा समेत प्रकाशित गरिएको छ ।

सो उजुरीमा आचार संहितमा एउटा पत्रिकामा एक दिनमा एउटामात्र विज्ञापन गर्न पाइनेमा ४/४ ओटा राष्ट्रिय दैनिकमा एकैदिन विज्ञापन गरी एमालेले आचारसंहिता विपरीत काम गरेकोले सो उपर अविलम्ब कारबाही गर्न निर्वाचन आयोगलाई अनुरोध गरिएको उल्लेख छ ।


सुभाष साह