निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

  ०७४ मङ्सिर ८ गते

धनकुटा खबर अनलाइनले निर्वाचन आचारसंहिता विपरीत एक पक्षीय समाचार प्रकाशन गरेको भन्दै मङ्सिर ८ गते संयुक्त वाम गठबन्धनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिटीका सचिव नैन विश्वकर्माद्वारा हस्ताक्षर गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको उजुरीमा निर्वाचन आचारसंहिता २०७२ (तेस्रो संशोधन २०७४) को परिच्छेद ५ अनुसार आम सञ्चार माध्यमले पालना गर्नुपर्ने आचरण (दफा १४) विपरीत सो अनलाइनले समाचार प्रकाशन गरेको उल्लेख छ ।

धनकुटा खबर अनलाइनले राजनीतिक दलका उम्मेदवारलाई समान अवसर नदिई पत्रिकामा नै चुनाव चिन्ह र स्वस्तिक छाप राखी राप्रपा (प्रजातान्त्रिक) का उम्मेदवारको पृष्ठपोषण र तथ्यहीन समाचार प्रकाशन गर्दै आएको उल्लेख छ ।

सो अनलाइन पत्रिकाले २०१७ को नोभेम्बर १३ मा प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट बलिया उम्मेदवारको रूपमा हेरिँदै थापा र नोभेम्बर १४ मा राजेन्द्रलाई एमालेबाटै घात, सुनिललाई जनताको साथ शीर्षकको कपोकल्पित समाचार प्रकाशन गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संयुक्त वाम गठबन्धनद्वारा लिखित उजुरी आएको उल्लेख गर्दै समाचार प्रकाशनको विषयमा बुझ्ने कार्य भइरहेको र यदि गल्ती गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए ।


सन्तोष रूचाल