निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै सांसददेखि वडाध्यक्षसम्म चुनावी प्रचार प्रसारमा

  ०७६ मङ्सिर ९ गते

मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समय नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले स्वच्छ र निश्पक्ष उपनिर्वाचन गराउनका लागि राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र सञ्चारकर्मीको सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिताको बारेमा जानकारी समेत गराएको थियो ।

निर्वाचन आचारसंहितामा नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचरणमा नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्नु हुँदैन भनेर उल्लेख गरिएको  छ ।

तर, बागलुङको क्षेत्र नम्बर २ (ख) मा हुन लागेको प्रदेश सभा सदस्य र बडिगाड गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षको उपनिर्वाचनको प्रचार प्रसारमा खटिएका राजनीतिक दल र तिनका प्रतिनिधीले निर्वाचन आचारसंहिताको सिधै उल्लङ्घन गरेका छन् ।

Aacharsahintaमुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेस र बाम गठबन्धनको चुनावी प्रचार प्रसारमा पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर चुनावी प्रचार प्रसारमा लागेका छन् ।

सांसद, जिल्ला समन्वय समिति बागलुङका प्रमुख, उपप्रमुख, विभिन्न नगरपालिका मेयर वडा अध्यक्षहरू प्रदेशसभा सदस्यको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेवार बन्नुभएका खिमविक्रम शाहीको चुनावी प्रचार प्रसारमा सङ्घीय सांसद सुर्य पाठक, गण्डकी प्रदेश सभा सदस्य पियारी थापा, प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा, मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली व्यस्त हुनुहुन्छ ।

त्यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका जीत शेरचनको चुनावी प्रचारप्रसारमा सङ्घीय सांसद ज्ञानकुमारी छन्त्याल, प्रदेश सभा सांसद कोपीला बोहरा, मणिभद्र शर्मा, गलकोट नगरपालिकाका मेयर भरत शर्मा, उपमेयर रेणुका काउचा मगर, तमान खोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष मानसरी शेरचन, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभाकुमारी कार्की, वडा नं १ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल, वडा नं ५ का वडा अध्यक्ष हिराबहादुर घर्ती र वडा नं ६ का वडा अध्यक्ष हर्कमान बुढा खटिनुभएको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गना र उपप्रमुख विष्णु भुसाल पनि चुनावी प्रचार प्रसारमा देखिँदै आउनुभएको छ ।

बडिगाड गाउँपालिका–२ का वडा अध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको पदमा राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपाबाट उम्मेदवार बन्नुभएका ढालप्रसाद शेरचनको चुनावी प्रचारमा ढकाल र भुसाल सहभागी हुँदै आउनुभएको छ ।

त्यस्तै वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका डिलबहादुर रानाको चुनावी प्रचार प्रसारमा बडिगाड गाउँपालिका–५ का वडा अध्यक्ष अर्जुनप्रसाद खरेल, वडा नम्बर ६ का वडा अध्यक्ष मौसम काजी क्षेत्री र वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरूङ घरदैलो र चुनावी सभामा समेत सहभागी हुँदै आउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले कुनैपनि सार्वजनिक पदमा रहेको व्यक्ति चुनावी प्रचार प्रसारमा खटिएको भन्दै अहिलेसम्म कुनै उजुरी नपरेको बताउनुभयो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहितामा व्यवस्था भए बमोजिम नै मन्त्री, सांसददेखि वडाध्यक्षसम्म कोही पनि चुनावी प्रचारमा सहभागी हुन नपाइने बताउनुभयो ।

तर, अहिलेसम्म त्यस्तो भएको भन्दै एउटा पनि उजुरी परेको छैन । ‘उजुरी आएमा हामी छानविन गरी आवश्यक कारवाही गर्छौँ ।’–वहाँले भन्नुभयो ।

photo20191125baglung (1)

photo20191125baglung (2)

photo20191125baglung (3)

photo20191125baglung (4)

photo20191125baglung (5)

photo20191125baglung (6)

photo20191125baglung (7)


सिर्जना पन्त