निर्वाचनमा मानव अधिकारकर्मीको सहयोग आवश्यक छः निर्वाचन अधिकारी सुवेदी

  ०७६ कात्तिक १९ गते

कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले निर्वाचनको समयमा मानवअधिकारकर्मीहरूको भुमिका महत्वपूर्ण रहने बताएका छन् ।

आगामी मङ्सिर १४ गते हुने कास्की जिल्ला क्षेत्र नं २ प्रतिनिधि सभाको उपनिर्वाचनका सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), इन्सेक गण्डकी प्रदेशलगायतका टोलीसँग सुवेदीले निर्वाचनका क्रममा आचारसंहिता पालना भए/नभएको बारेमा समेत अनुगमनका लागि आग्रह गरे ।

‘मतदाता शिक्षा दिनुस् । अनौपचारिक रुपमा निर्वाचनको पर्यवेक्षण गरेर आगामी दिनमा पनि निर्वाचनलाई सुधार गर्नुपर्ने केही विषय सुझाव दिनुस् ।’–सुवेदीले भने ।

उनले मङ्सिर पहिलो हप्ताबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताए । सुवेदीले केन्द्रको सुरक्षा व्यवस्था, निर्वाचनका लागि आवश्यक सामग्री खरिद गर्ने काम भइरहेको जानकारी दिए ।

वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले उपनिर्वाचनलाई निश्पक्ष बनाउनका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।

पोखरा महानगरपालिकाको ११ वडा रहेको कास्की क्षेत्र नं २ मा ३२ ओटा मतदान स्थलमा ८२ ओटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचन कार्यलयले ७१ हजार ८ सय ७१ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ भने कात्तिक २१ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवार मनोनयको समय तोकेको छ ।


सुशन घिमिरे