निर्वाचनको ८० प्रतिशत तयारी पूरा भइसक्यो–प्रमुख आयुक्त यादव

  ०७४ वैशाख १ गते

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि बढिसकेको हुँदा निर्वाचनप्रति अब शङ्का उपशङ्का नगर्न सबैसँग आग्रह गरिएको राससले जनाएको छ ।

नयाँ वर्ष २०७४ का सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै आगामी स्थानीय तहको चुनावमा सहभागी हुन सबै पक्षलाई आह्वान गरे ।

स्थानीय तहको निर्वाचनपछि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि आउने बताउँदै प्रमुख आयुक्त यादवले भने-“हामी संविधान र कानुनका आधारमा निर्वाचनको प्रक्रिया अघि बढाउँछौँ । संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रुपमा रहेको स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध छ ।”

मतदाता परिचयपत्र, मतदाता नामावली, मतपत्रको छपाई  र मतपेटिकाको व्यवस्थापनको काम एकैसाथ भइरहेको बताउँदै प्रमुख आयुक्त यादवले निर्वाचनका लागि सबैको एउटै भावना भएकाले छोटो अवधिमै पनि तयारीको काम ८० प्रतिशत पूरा भइसकेको बताए ।

यसैगरी निर्वाचन आयोगले यही वैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचको राष्ट्रिय महोल बनिरहेको जनाएको छ ।

आयोगस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले नगर र गाउँ तहमा मतदाता र उम्मेदवार निर्वाचनका लागि अत्यन्त जागरुक र उत्साहितका साथ प्रतीक्षामा रहेको बताए ।

मुलुकभरका ७ सय ४४ स्थानीय तहको आगामी निर्वाचनका लागि ८४ हजार मतपेटिका आवश्यकता रहेकामा खरिद गरिएको ३० हजार मतपेटिका अबको तीन दिनभित्रै सबै प्राप्त भइसक्ने पनि आयोगले जनाएको छ । आगामी निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् ।


अनलाइन डेस्क