निर्माण सम्पन्न भएको वर्षौसम्म कामदारले ज्याला पाएनन्

  ०७७ फागुन २९ गते

२०७६ सालमा निर्माण सम्पन्न भएको बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्य चौकी भवन निर्माणमा खटिएका कामदारले हालसम्म ज्याला पाएका छैनन् ।

भवन निर्माण सम्पन्न भएको डेढ वर्ष बित्दा समेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला दिएको छैन ।

०७३ सालमा निर्माण सुरू गरिएको स्वास्थ्य चौकीको भवन ०७६ असोज महिनामा पुरा भएको थियो ।

आफू सहित स्थानीय ५५ जना कामदार, सात जना व्यवसायीले समेत निर्माण कम्पनीबाट भुक्तानी नपाएको स्थानीय कामदार उमेश विकले बताउनुभयो ।

भवन निर्माणमा आफै खटिनुभएको वडा नम्बर १० का वडा अध्यक्ष समेत रहेका तीलक पुनले कम्पनीबाट गाउँका सबैले गरी १५ लाख रुपियाँ लिन बाँकी रहेको बताउनुभयो ।

पुन आफैले भवनमा विद्युतीकरण गरेको, गारो लगाए वापतको ५० हजार रुपियाँ लिन बाँकी रहेको बताउनुभयो ।

०७७ पुस महिनामा वडा अध्यक्ष सहित कामदारले जिल्ला प्रशासन कार्यालय बागलुङमा निर्माण व्यवसायीविरूद्ध उजुरी दिएका छन् । वडा अध्यक्षकै नेतृत्वमा प्रशासन पुगेर उजुरी दिएपनि हालसम्म सुनुवाई नभएको कामदार उमेश बताउनुहुन्छ ।

स्वास्थ्य चौकीको भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १ करोड ७७ लाख रुपियाँ बजेटमा निर्माण भएको हो ।

‘प्रहरी र प्रशासनमा उजुरी दिएका छौं, वडा कार्यालयले पनि समन्वय गरिरहेको छ,’– वडा अध्यक्ष पुनले भन्नुभयो– ‘छिटो भन्दा छिटो समस्या समाधान गर्नको लागि पहल गरेका छौं ।’

कामदारले हामी यतिउति सङ्ख्यामा छौ भनेर मात्र भएन, निर्माण कम्पनीसँग बसेर ज्याला नपाएका कामदारको यकिन विवरण निकालेर भुक्तानी प्रक्रिया अगाडि बढाउने प्रयत्न गरिरहेको पुनको भनाइ छ ।

निर्माण कम्पनीले व्यवसायिक प्रतिनिधिको रूपमा स्थानीय वसन्त केसीलाई भवन निर्माणको जिम्मा दिएको थियो ।

निर्माण कम्पनीबाट भवन निर्माणको जिम्मा लिएका केसीले निर्माण कम्पनीले पाउनुपर्ने मध्यको अझै १० प्रतिशत बजेट रोक्का रहेकाले कामदारलाई भुक्तानी गर्न समस्या आएको बताउनुभयो । निर्माण कम्पनीले प्राप्त गर्नुपर्ने बजेट आएपछि कामदारलाई भुक्तानी दिने उहाँले बताउनुभयो ।


सिर्जना पन्त