निर्मला हत्या प्रकरणः ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

  ०७५ फागुन ३० गते

निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै परेको मुद्दामा ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न फागुन ३० गते जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुई ओटा मुद्दामा ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कञ्चनपुर जिल्लाका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र तत्कालीन इन्स्पेक्टर एकेन्द्र खड्कालाई ९÷९ लाख रुपियाँ तथा इन्स्पेक्टर जगदिश भट्टलाई ४ लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

यसैैगरी निलम्बित सई हरिसिंह धामीलाई ३ लाख ५० हजार रुपियाँ, रामसिंह धामीलाई ३ लाख रुपियाँ तथा प्रहरी जवान चाँदनी साउँदलाई २ लाख ५० हजार रुपियाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।

कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहितका आठ जनाविरूद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो । अदालतमा ६ जना मात्रै उपस्थित भएपछि उनीहरूको मात्रै बयान लिन थालिएको थियो ।

६ जना प्रहरीको बयान र थुनछेक बहस फागुन २९ गते सकिएको थियो । अदालतको आदेश अनुसार सबैले धरौटी रकम बुझाएपछि रिहा भएका छन् ।

तत्कालीन एसपी डिल्लीराज विष्ट र निलम्बित सीआईबीका डिएसपी अङ्गुर जिसी भने फरार छन् । उनीहरू विरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ । दुवै जनालाई यसअघि नै २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो ।


कोमलनिरन्जन भाट