निर्मला हत्या प्रकरणः उजुरी परेका प्रहरीसँग बयान सुरू

  ०७५ फागुन २३ गते

निर्मला हत्याकाण्डमा प्रमाण मेटेको आरोपमा उजुरी परेका प्रहरीहरूसँग जिल्ला अदालत कञ्चनपुरले फागुन २३ गतेबाट बयान लिन सुरू गरेको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रहरीविरूद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र खडग विष्टको उजुरीका आधारमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरीविरूद्ध छुट्टाछुट्टै मुद्दा फागुन २२ गते अदालतमा दायर भएको हो ।

उजुरी परेका आठजना प्रहरीमध्ये तत्कालीन एसपी डिल्लीराज विष्ट र सीआईबीका डीएसपी अङ्गुर जिसीबाहेक अन्य ६ जना प्रहरीहरू अदालतमा उपस्थित भएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी कृष्णदत्त भट्टले बताए ।

उनीहरूविरूद्ध हत्याकाण्डको अनुसन्धानमा प्रमाण नष्ट गरेको र गिरफ्तार गरिएका आरोपितलाई यातना दिएको अभियोगसहित मुद्दा दर्ता गरिएको भट्टले बताए ।

भट्टका अनुसार दिलिपसिंह विष्टलाई यातना दिएकोे अभियोगमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख तथा बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अङ्गुर जिसी, डिएसपी ज्ञानबहादुर सेटी र इन्स्पेक्टर एकेन्द्र खड्काविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ ।

घटनासम्बन्धी प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीहरू अङ्गुर जिसी र ज्ञानबहादुर सेटी तथा इन्स्पेक्टरहरू एकेन्द्र खड्का तथा जगदीशप्रशाद भट्ट, सई हरिसिंह धामी, असई रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

अदालतमा उपस्थित भएका प्रहरीसँग अदालतले बयान लिइरहेको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी कृष्णदत्त भट्टले बताए ।

प्रहरीले भने एसपी विष्ट र डिएसपी जिसी सम्पर्कमा नआएको भन्दै जिल्ला अदालतमा हाजिर गराउन नसकेको जनाएको छ ।


कोमलनिरन्जन भाट