निर्मला हत्या घटनाको छानबिन समितिका सदस्यको राजीनामा

  ०७५ भदौ २५ गते

बलात्कार पश्चात हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले 'हत्यारा'बाट आफू र आफ्नो परिवारमाथि खतरा हुन सक्ने भन्दै जीवन रक्षाको माग गर्दै भदौ २५ गते राजीनामा दिएका छन् ।

१५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले कञ्चनपुरमा आएर अनुसन्धान टुङ्ग्याइसकेको अवस्थामा थप १५ दिन समितिको म्याद थपिनुले निर्मलालाई न्याय दिन नसकिने निष्कर्षसहित उनले रिर्पोर्टस क्लबमा पत्रकार सम्मेलन गरी राजीनमा दिएका हुन् ।

घटनाको छानविनको क्रममा सत्य तथ्य र मुख्य अपराधि पत्ता लगाउने काममा संलग्न भएका कारण आफू र परिवारलाई शक्तिशाली अपराधिबाट जुनसुकै समयमा पनि आक्रमण हुन सक्ने सम्भावना रहेको भन्दै उनले नेपाल सरकार, राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसङ्घ मानव अधिकार आयोग, मानव अधिकार प्रवर्धन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार संस्था, सरकार र राजनीतिक दललगायतलाई जीवन रक्षाका लागि अपिल गरेका छन् ।

निर्मला हत्या काण्डमा प्रहरीले दिलिप विष्टलाई गिरफ्तार गरेर सार्वजनिक गरेपछि आन्दोलनकारीले तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई निलम्बनको माग गर्दै उच्चस्तरीय छानविन समितिको माग गरेपछि सरकारले भदौ ८ गते गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी, सशस्त्र प्रहरीका डिआइजी, अनुसन्धान विभागका सह निर्देशक र प्रदेश ७ को आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधिसहित पाँच सदस्यिय उच्चस्तरीय समिति गठन गरिएको थियो ।

उच्चस्तरीय समितिबाट राजिनामा दिने सदस्य वीरेन्द्र केसी प्रदेश ७ को आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधि हुन् ।


कोमलनिरन्जन भाट