निर्मला हत्याको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै मन्त्रीको ध्यानार्कषण

  ०७५ साउन १६ गते

बलत्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तका ‘हत्यारा’लाई कार्बाहीको माग राख्दै साउन १५ गते कञ्चनपुरका जनप्रतिनिधि र नागरिक समाजले प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहाको ध्यानार्कषण गराएका छन् ।

जिल्ला समन्वय समिति, कञ्चनपुरका उपप्रमुख सानुकुमारी बुढथापाको नेतृत्वमा जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरू सहितको संयुक्त टोलीले हत्या घटनाको अनुसन्धान तथा छानबिन गरिनु पर्ने, दोषीलाई कारबाही हुनुपर्ने, घटनास्थल रहेको ठाँउमा अस्थायी प्रहरी विट राखिनुपर्ने, जिल्लाका सम्पुर्ण नागरिकहरूले शान्ति र सुरक्षाको अनुभूति हुने किसमको वातावरण सृजना गर्नका लागी मन्त्री शाहाको ध्यानार्कषण गराएको थियो ।

कञ्चनपुर जिल्लामा लागु औषध तथा मदिरा सेवनका कारण आपराधिक गतिविधि बढिरहेको अधिकारकर्मी भगवती थापाले बताइन् । नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मीले अपाराध नियन्त्रणका लागि प्रहरी घटना नियन्त्रणमूखी तथा चनाखो हुनुपर्ने बताए ।

टोलीले ध्यानार्कषण गराएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहाले बालिका निर्मला पन्तको घटनामा संलग्न हत्यारालाई चाँडै पत्ता लगाई कानुनका दायरामा ल्याएर कडा भन्दा कडा कारबाही गरिने बताए । यसका साथै प्रदेशको नयाँ सुरक्षा नीति तथा योजना निर्माण गरी अपराध नियन्त्रण गरिने बताए ।

जिल्ला समन्वय समिति, कञ्चनपुरका उप–प्रमुख सानुकुमारी बुढथापाको नेतृत्वमा गएको टोलीमा महाकाली नपाका उपप्रमुख चिनी गिरी, कृष्णपुर नपाकी उपप्रमुख रमिता राना, नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाट, माहला अधिकारकर्मी भारती सिंह, भगवती थापा, लक्ष्मी बोहरा र सीता बोहराको सहभागिता रहेको थियो ।


कोमलनिरञ्जन भाट