नियमित अनुगमन नहुदाँ सेवा र वस्तु उपभोगमा समस्या

  ०७६ पुस २९ गते

सदरमुकाम तानसेन लगायतका बजारहरूमा  नियमित बजार अनुगन नहुदाँ गुणस्तरिय वस्तु र सेवा उपभोगमा समस्या रहेको उपभोक्ताहरूको गुनासो रहेको छ ।

जिल्लाका सबै स्थानीय तहहरूले  नियमित अनुगमन नगर्दा  व्यवसायी र सेवा प्रदायकको मनोमानी बढेको उपभोक्ताहरूको आरोप लगाएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयले गर्ने अनुगमन अहिले स्थानीय तहहरुले नै गर्ने व्यवस्था छ  । जिल्लामा रहेका आठ वटा स्थानीय तहले बजार अनुगमन कार्यविधि २०७४ निर्माण गरेको भएपनि बजार अनुगमन कार्य भने नियमित हुन सकेको छैन । रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋसिराम अर्जेलले कार्यविधि पास भएपनि कर्मचारी अभाव रहेको र भएका कर्मचारीहरू बिकास योजनामा लाग्नु परेकोले बजार अनुगमन नियमित हुन नसकेको बताउनु भयो ।

स्थानीय सरकार गठन भएसँगै जिल्लाका बजार, होटल, मेडिकल, अस्पतालको अनुगमन कार्य ठप्प भएको छ । बजार अनुगमन नहुँदा जिल्लाका सर्वसाधारण महङ्गो मूल्यमा सामान किन्न बाध्य भएका छन् । पसलमा बिक्रीका लागि राखिएका एकै प्रकारको सामानको मुल्य समेत पसल र ग्राहक पिच्छे फरक हुने गरेको छ ।

तानसेन र अन्य व्यापारिक क्षेत्रका मासु व्यवसायीले खुल्ला रुपमा उपभोग गर्न नमिल्ने मासु बिक्री गर्दा समेत स्थानीय तह  मौन बसेको सर्वसाधारणको गुनासो छ । होटल तथा पसलमा राखिएका खाद्य बस्तुमा अखाद्य वस्तुको मिसावट रहेको पाइन्छ । विगतमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयले नियमित गर्ने गरेकोमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनुगमन कार्य नियमित हुन सकेको छैन । बजार अनुगमन गर्ने, व्यवसायीलाई करको दायरामा ल्याउने, सफा स्वच्छ उपभोग्य वस्तुको विक्री गर्न प्रोत्साहित गर्ने, मापदण्ड विपरित कार्य गर्ने व्यवसायीलाई कानुनी कारवाही गराउने जिम्मेवारी स्थानीय तहमा गए पछि प्रभावकारी हुनपर्नेमा सबै काम ठप्प जस्तै भएको मानवअधिकार सरोकार केन्द्र पाल्पाका अध्यक्ष दिवाकर पाण्डेले बताउनु भयो ।

जिल्ला भित्रका मुख्य राजमार्ग तथा सडक किनारका होटलहरुमा खाद्य वस्तु मापदण्ड अनुरुप नभएको बासी सड्ने अवस्थामा पुगेको वस्तु विक्री भइरहेको माथागढी गाउँपालिका देउगिरका विवेक गाहाले बताउनु भयो । नियमित रुपमा बजार अनुगमन नहुँदा होटल व्यवसायीको मनोमानी बढ्दै गएको तानसेन भगवती टोलका मनोजकुमार केशीले बताउनु भयो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले दशैको समयमा मासु पसलहरूको अनुगमन गरिएपनि समग्र बजार अनुगमन हुन नसकेको र अब केही दिनमा अनुगमन सुरू गरिने बताउनु भयो । उहाँले स्थानीय तहलाई जिम्मेवार र अधिकार दिए पनि आवश्यक र विशेषज्ञ कर्मचारी नभएकै कारण बजार अनुगमन हुन नसकेको बताउनु भयो ।


यज्ञमूर्ति तिमिल्सिना