निजी आवास पुनर्निर्माणको काम ६० प्रतिशत सकियोः प्राधिकरण

  ०७६ कात्तिक १७ गते

भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

असोज मसान्तसम्म ६० प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निर्धारित समयमै सबै काम सम्पन्न गर्ने लक्ष्य अनुसार गति बढाइएको दावी गरेको छ । त्यसका लागि प्राधिकरणले कात्तिक मसान्तभित्रै दोस्रो किस्ताको अनुदान रकम लिइसक्न आग्रह गरेको छ ।

भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लासहित ३२ जिल्लाको तथ्याङ्क अनुसार निजी आवास निर्माणको काम सबैभन्दा द्रुत गतिमा भइरहेको छ ।

यी जिल्लाका कूल लाभग्राहिको संख्या ८ लाख १६ हजार ४ सय १९ जना रहेकोमा ४ लाख ७१ हजार ६ सय ९९ जनाले निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् ।

कूल ८ लाख १६ हजार ४ सय १९ लाभग्राहीमध्ये ७ लाख ७६ हजार ९ सय १६ जनाले अनुदान सम्झौता गरिसकेका छन् ।

यसले निर्धारित समयभित्रै पुनर्निर्माण सम्पन्न हुने देखिएको बताउँछन् राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली ।

‘तोकिएको समयभित्रै काम सक्ने हाम्रो लक्ष्य छ । त्यसका लागि हाम्रो संयन्त्रलाई गम्भीर रूपले परिचालन गरिरहेका छौँ ।’–ज्ञवालीले भने–‘अहिलेसम्मको प्रगति हेर्दा हामिले निजी आवासको काम समय भन्दा अगाडि नै सम्पन्न गर्नेछौँ । अन्य संरचना पनि सोही अनुसार अगाडि बढाइरहेका छौँ ।’

जिल्लागत तथ्याङक हेर्दा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका ८८ हजार ३ सय ९ जना लाभग्राहीमध्ये ६८ हजार ६ सय ९३ जनाको निजी आवास निर्माण सम्पन्न भएको छ ।

त्यसैगरी नुवाकोटका ७५ हजार ३ सय ३८ मध्ये ५९ हजार १ सय ३० जनाको निजी आवास निर्माण सम्पन्न भएको छ ।

धादिङका ७८ हजार ३ सय ८७ मध्ये ५२ हजार ९ सय ६८ जनाको घर बनिसकेको छ भने दोलखाका ७० हजार ३०२ मध्ये ४४ हजार ५ सय ३३ जनाको घर निर्माण सम्पन्न भएको छ ।

भूकम्पको केन्द्रविन्दु गोरखाका ६५ हजार ८ सय १९ जना लाभग्राहीमध्ये ५७ हजार १८३ जनाको घर निर्माण भइसकेको छ भने रामेछापका ४८ हजार ९ सय ३७ मध्ये ३६ हजार ५ सय २६, काभ्रेपलाञ्चोकका ७७ हजार ८ सय ३४ मध्ये ३६ हजार २ सय ९७ जनाको घर निर्माण सम्पन्न भएको छ ।

सिन्धुलीका ३८ हजार ४५ लाभग्राहीमध्ये १३ हजार ५ सय ४८ जनाले आवास निर्माण गरिसकेका छन् । मकवानपुरका ३४ हजार ३ सय १६ मध्ये १४ हजार १ सय ३५, ओखलढुङ्गाका २१ हजार ३ सय ४५ मध्ये १६ हजार २ जनाले घर निर्माण गरेका छन् ।

त्यस्तै रसुवाका १२ हजार ५ सय २१ मध्ये १० हजार ४ सय ६० जनाले आवास निर्माण सम्पन्न गरेका छन् । ललितपुरका २८ हजार ४ सय ६३ लाभग्राहीमध्ये ५ हजार ३ सय ७९ जनाले र भक्तपुरका २८ हजार ४ सय २६ मध्ये ८ हजार ४ सय २० जनाले घर निर्माण गरेका छन् ।

भूकम्पबाट प्रभावित लमजुङका १४ हजार ३६ लाभग्राहीमध्ये ३ हजार २ सय, तनहुँका १३ हजार ९ सय ४६ मध्ये १२ हजार ६ सय ७०, खोलुखुम्बुका १२ हजार ८३ मध्ये २ हजार ३ सय २, खोटाङका ८ हजार ४ सय ६६ मध्ये २ हजार ९ सय २८, चितवनका ७ हजार ३ सय ३५ मध्ये ४ हजार १ सय ४०, गुल्मीका ४ हजार २ सय १३ मध्ये ३ सय २७, स्याङ्जाका ८ हजार ८ सय ४२ मध्ये ७ सय ७ र कास्कीका ६ हजार ५३ मध्ये ४ सय ८८ जनाले निजी आवास पुनर्निर्माण गरेका छन् ।

त्यसैगरी पाल्पाका ४ हजार ६ सय ९५ मध्ये १ हजार ४ सय ३५, भोजपुरका ५ हजार ७ सय ५६ मध्ये २ हजार ९ सय ५६, पर्वतका ५ हजार २ सय ७९ मध्ये १ हजार ५ सय ५८, धनकुटाका २ हजार ८ सय ७६ मध्ये १ हजार १ सय ६५, नवलपरासीका ८ सय ७६ मध्ये ७ सय २६ जनाले घर निर्माण गरेका छन् ।

त्यस्तै बाग्लुङका २ हजार ३ सय ९५ मध्ये ९ सय ४०, अर्घाखाँचीका १ हजार ३७ मध्ये २ सय ५४ ले घर निर्माण गरेका छन् ।

सङ्खुवासभाका १ हजार ९ सय ८४ मध्ये एक जनाले पनि घर निर्माण सम्पन्न नगरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै म्याग्दीका ८ सय ७१ मध्ये ३ सय २५ जनाले घर निर्माण सम्पन्न गरिसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सबै जिल्लामा गरी ४ लाख ७१ हजार ६ सय ९९ ओटा घर निर्माण भइरहेको समेत जानकारी दिएको छ ।

अहिलेसम्म कूल लाभग्राहीमध्ये ७ लाख ७६ हजार ९ सय १९ जनाले अनुदान सम्झौता गरेकोमा ७ लाख ६८ हजार ५ सय ५५ जनाले पहिलो किस्ताको रकम बुझेका छन् ।

त्यसैगरी ६ लाख १२ हजार ३ सय ९७ जनाले दोस्रो किस्ताको रकम बुझ्दा ५ लाख ९ हजार ८ सय ८६ जनाले तेस्रो किस्ताको रकम बुझिसकेको प्राधिकरणले जनाएको छ ।

काठमाडौँमा भने सुस्त
भूकम्प प्रभावित अन्य जिल्लाहरूमा पुनर्निर्माणले गति लिए पनि राजधानी काठमाडौँमा भने पुनर्निर्माण कार्य सुस्त देखिएको छ ।

काठमाडौँका ४७ हजार ६ सय ६५ लाभग्राहीमध्ये १२ हजार ३ सय ४ जनाले मात्र घर निर्माण गरेका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालिले भने निजी आवासतर्फ त्यस्तो देखिएपनि सरकारी एवम् सार्वजनिक संरचना पुनर्निर्माण द्रुत गतिमा अघि बढेको दावी गरे ।

धरहरा, काष्ठमण्डपलगायतका पुरातात्विक महत्वका संरचना तोकिएकै समयमा सम्पन्न हुने उनको भनाई छ ।

काष्ठमण्डप पुनर्निर्माणमा काठको अभाव भएकोले केही सुस्त भएपनि आवश्यक काठ उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरिसकिएको प्राधिकरणले जनाएको छ ।

२०७२ साल वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण पुगेको भौतिक क्षतिको शीघ्र पुनर्निर्माण गर्ने उद्देश्यले सोही वर्षको पुस १० गते प्राधिकरण स्थापना गरिएको थियो ।

प्राधिकरणको अवधि पाँच वर्षको तोकिएको छ । प्राधिकरणले निर्धारित समयभित्रै पुनर्निर्माणको काम सक्ने लक्ष्य लिएको छ ।


विमला पौडेल