निःशुल्क वितरण हुने पुस्तकको शुल्कफिर्ता गरी विद्यालयलाई कारवाही गर्न माग

  ०७७ साउन १७ गते

आदर्शकोटवाल गाउँपालिका–१ चिउटाहामा सञ्चालित रामचरित्र उच्च माद्यमिक विद्यालयमा साउन १३ गते देखि १५ गतेसम्म निःशुल्क वितरण हुने पुस्तकमा शुल्क लिएर वितरण गरेको भन्दै विद्यार्थीहरूले शुल्क फिर्ता र विद्यालयलाई कारवाही गर्न माग गर्नु भएका छन् ।

photo20200801bara (1)

विद्यालयले ०७७ साउन १३ गतेदेखि १५ गतेसम्म कक्षा आठ, नौ र १० का सबै विद्यार्थीसँग २ सय रुपियाँ पुस्तकको शुल्क लिएर पुस्तक वितरण गरेको सोही टोल बस्ने कक्षा नौमा अध्ययनरत १५ वर्षीय कुन्दनकुमार साहले इन्सेक जिल्ला प्रतिनिधिलाई साउन १६ गते बताउनु भयो ।

कक्षा एकदेखि कक्षा पाँच सम्म १ सय रुपियाँ र कक्षा ६ देखि कक्षा १० सम्म २ सय रुपियाँ शुल्क लिएर पुस्तक वितरण गर्ने योजना रहेको प्राचार्य दिनेशप्रसाद साहले सोही टोल निवासी सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय रविशङ्कर मुखियाले बताउनु भयो ।

हामी विद्यार्थी बालबालिकाहरूलाई नेपाल सरकारले निःशुल्क वितरण गर्न पठाएको पुस्तकको गुरुवर्गले शुल्क लिएकाले विरोध गरी हामीसँग लिएको रकम फिर्ता गर्न र पुस्तक वितरण गर्न बाँकी रहेका कक्षामा निःशुल्क पुस्तक वितरण गर्न सहजिकरण गरिदिनका लागि बालबालिकाहरूले इन्सेक कार्यालय बारामा साउन १६ गते पत्रमार्फत अनुरोध गर्नु भयो ।

photo20200801bara (2)

नेपाल अधिराज्यको संविधान २०७२ भाग २ धारा ३१ मा शिक्षा सम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा मध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हक प्रदान गरेपनि गुरुवर्गले शुल्क लिएर कानुन उल्लङ्घन गरेको सोही गाँउपालिका वडा नं ३ निवासी सोही विद्यालयमा कक्षा तीनमा अध्ययनरत विद्यार्थी गौरिशंकर प्रसाद यादवले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिले एक वर्ष अगाडि गरेको निर्णय कार्यान्वयन गरेकाले रकम किन लिएको भन्ने सबै विद्यार्थीले खोजि गरेका छैनन् कसै कसैले मात्र किन पैसा लिएको भनि सोधखोज गरेको विद्यालयका प्राचार्य दिनेशप्रसाद साहले बताउनु भयो ।

कुन शिर्षकमा रकम सङ्कलन भएको हो आफूलाई जानकारी नभएको विद्यालयका लेखापाल दशरथप्रसाद साहले बताउनु भयो ।

विद्यालयले लिएको शुल्कका विषयमा गाँउपालिकाको कार्यालयमा बालबालिका आएर असन्तुष्टि जनाएकाले साउन १६ गते विद्यालय प्रशासनसँग बसेर सल्लाह भएको र बाँकी विषयमा सल्लाह गरी समाधान गर्न पहल गर्ने गाउँपालिकाका शिक्षा संयोजक बेदराज अधिकारीले बताउनु भयो ।


भोलानाथ पौडेल