निःशुल्क भनिएको मावि तहमा शुल्क तिर्दै विद्यार्थी

  ०७६ साउन २१ गते

सरकारले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको भएता पनि विद्यार्थीहरूले शुल्क तिर्नु परेको गुनासो गरेका छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन–२०७५ को दफा २० मा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने कुरा उल्लेख गरिएको छ ।

Photo20190806rolpa

माध्यमिक तह अन्तर्गत कक्षा ११ को भर्ना हुन ५ हजार रुपियाँ शुल्क तिर्नु परेको रोल्पा नगरपालिका–६ धाबाङका विद्यार्थी विजय केसीले बताए ।

सदरमुकाम लिबाङस्थित बालकल्याण माध्यमिक विद्यालयमा शिक्षा सङ्काय अध्ययनका लागि भर्ना शुल्क बापत ३ हजार रुपियाँ र पाँच महिनाको शुल्क २ हजार रुपियाँ तिरेको उनले बताए ।

उक्त समस्या एउटा मात्र विद्यालयमा नभई जिल्लाका सबै विद्यालयमा रहेको अभिभावक तथा विद्यार्थीले गुनासो गर्ने गरेका छन् ।

यसअघि कक्षा १० सम्मलाई मात्र माध्यमिक तह मानेर निःशुल्क गरिएको भनिएता पनि विद्यालयहरूले भने शुल्क लिने गरेका थिए ।

अहिले कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएको छ । शिक्षक दरबन्दी अभावका कारण निजी शिक्षकलाई तलब खुवाउन शुल्क लिने गरेको बालकल्याण माविका प्राचार्य मदुसुधन पोख्रेलले बताए ।

‘कक्षा ११ र १२ का लागि जम्मा तीन जनाको दरबन्दी छ । कम्तीमा पनि पाँच ओटा विषयको कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ, त्यसैले निजीबाट राखिएका शिक्षकलाई तलब खुवाउन विद्यार्थीबाट शुल्क लिने गरेका छौँ ।’–पोख्रेलले भने ।

माध्यमिक तहसम्म अनिवार्य निःशुल्क रूपमा स्थानीय सरकारले शिक्षा प्रदान गर्ने भनिएता पनि हालसम्म स्थानीय सरकारबाट कुनै सहयोग नआएकाले शुल्क उठाउनु परेको विद्यालयले जनाएको छ ।

विद्यार्थी सङ्ख्या धेरै भएकाले कक्षा १० सम्मपनि अभिभावक सहयोग भनेर विद्यार्थीबाट शुल्क लिने गरेको प्राचार्य पोख्रेलले बताए ।

रोल्पा नपाका मेयर पुर्ण केसीले कक्षा ११ र १२ को बारेमा स्पष्ट नीतिगत व्यवस्था नभइसकेकोले बजेट नभएको बताउँदै १० कक्षासम्म निशुःल्क गरिएको बताए ।


माधवकुमार ओली