नारायणी अस्पतालमा डायलाइसिस सेवा बन्द, ४२ जना मृगौलारोगी प्रत्यक्ष प्रभावित

  ०७६ चैत ११ गते

वीरगंजको नारायणी अस्पतालले केमिकल अभाव देखाउँदै डायलाइसिस सेवा बन्द गर्नु परेको सूचना निकालेको छ । सार्वजनिक सूचना टाँस गरी अनिश्चितकालको लागि डायलाइसिस सेवा बन्द भएपछि अस्पतालमा डायलाइसिस गराइरहेका ४२ जना मृगौलारोगीलाई प्रत्यक्ष असर परेको छ ।

डायलाइसिसको माध्यमबाट मिर्गौलारोगीको रगत सफा गरिन्छ । सातामा दुई पटक तथा आवश्यकता अनुसार तीनपटकसम्म मिर्गौलारोगीको डायलाइसिस गरिन्छ ।

डायलाइसिसमा प्रयोग हुने डायलोजर र केमिकल पार्ट ‘ए’, पार्ट ‘बी’ नहुँदा सेवा बन्द गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिनु भयो । सो केमिकल टेन्डरमार्माफत ठेकेदार प्रिमियर मेडिसिन सप्लायर्ससँग खरीद भइरहेकोमा विगत पाँच महिनादेखि ठेकेदारले सो औषधिहरूको आपूर्ति गर्न नसकेको जनाएर मौज्दातमा रहेका औषधिहरू सकिएपछि समस्या उत्पन्न भएको डा.उपाध्यायले बताउनु भयो । पाँच महिनादेखि विराटनगर, चितवन, काठमाडौंबाट औषधि खरीद गरी सेवा दिइरहेको मेसु उपाध्यायले जानकारी दिनु भयो ।

महँगो उपचार पद्धतिको कारण अधिकांश बिरामीहरूको अवस्था दयनीय रहेकाले निजी अस्पतालमा वा काठमाडौं जान सक्ने अवस्था नभएकोले अब मृत्युको प्रतिक्षाबाहेक केही गर्न नसक्ने पर्सागढी नपा–७ टिकुलिया निवासी बिरामी भोज रायभरले दुःखेसो पोख्नु भयो ।
नेशनल मेडिकल कलेज लगायत अन्य निजी अस्पतालहरूले अहिले एकपटक डायलाइसिस गरेबापत ७ हजार रुपियाँ लिने गर्छ । नेपाल सरकारले सो सेवा नारायणी अस्पतालबाट अहिलेसम्म निशुल्क प्रदान गर्दै आएको छ । तर औषधि अभावको कारण सेवा बन्द भएको छ । औषधि अभावमा डायलाइसिस नहुँदा धेरैजनाको ज्यान जोखिममा परेको छ ।

५१ वर्षीया सीता कुमारीको गएको बुधवार डायलाइसिस गराउनु पर्ने थियो । अस्पताल आउँदा मात्र सेवा बन्द भएको उहाँले जानकारी पाउनु भयो । उपचारकालागि उहाँ निजी अस्पतालमा जानु भयो । जहाँ उहाँले एक पटक डायलासीस गरेको ७ हजार रुपियाँ तिर्नु परेको छ ।

बहुदरमाई नगरपालिका निवासी आशिया खातुनको पनि मृगौला डायलाइसिस गर्नु पर्छ । तर अस्पतालमा सेवा बन्द भएका कारण डायलाइसिस हुन सकेन । हप्तामा दुई पटक डायलाइसिस गराउँदै आउनु भएकी खातुनले डायलाइसिस सेवा नपाए आफूले निकै पीडा खेप्नु पर्ने बताउनु भयो । आफ्नो स्वास्थ्य अवस्था निकै खराब रहेको उहाँले बताउनु भयो ।

सेवा बन्द भएपछि अधिकांश बिरामीका परिवारजनले जिल्ला प्रशासन कार्यालय तथा नारायणी अस्पतालका मेसुसँग भेट गरी डायलाइसिस सेवा सञ्चालन गर्न माग गरेका छन् ।

नारायणी अस्पतालमा नौ ओटा डायलाइसिस मेशिनमध्ये तीन ओटा बिग्रिएको र ६ ओटा सञ्चालनमा छन् ।


केसी लामिछाने