नाम्लो र दाम्लो बाटेर आयआर्जन गर्दै कैदी/बन्दीहरु

  ०७६ माघ २९ गते

खाली समयको सदुपयोग गर्दै पाल्पा कारागारका पुरुष कैदी / बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिदै आएका छन् ।

कारागारका बन्दीहरुले त्यसै बिताउने फुर्सदको समयलाई आय आर्जनमा लगाउँदै आएको कारागारका बन्दी प्रेम कुमालले बताउनु भयो । कारागारमा रहेका पुरुष बन्दीहरुले बुनेका नाम्लो तथा दाम्लोहरु तानसेन बजारका साथै बुटवल, चितवन र काठमाण्डौका साथै विभिन्न मेला महोत्सवहरुमा बिक्री हुँदै आएको छ ।

कारागारमा १ सय भन्दा बढी बन्दीहरुले बिहानदेखि साँझसम्म दाम्लो र नाम्लो बाट्ने गरेको कुमालले बताउनुभयो । यसरी काम गरेर बन्दीहरुले मासिक रुपमा १० हजार रूपियाँसम्म फाइदा लिदै आएको उहाँले बताउनु भयो ।

कारागारकी जेलर भक्तिसरा रानाले पुरुष बन्दीहरुतर्फ आयआर्जनकालागि काम भएको तर महिला तर्फे हुन नसकेको बताउनु भयो । महिला बन्दीगृह तर्फ पनि अहिले विभिन्न सीप मुलक तालिमको माग रहेकाले सङ्घ संस्थाहरूसँग समन्वय गरी आय आर्जनका काममा प्रेरित गरिने उहाँले बताउनु भयो ।

हाल कारागारमा कैदी तोकिएका १ सय ७७, बन्दी  ६४ पुरुष र ४९ र कैदी  आठ  जना बन्दी महिला रहेका छन् । कारागारमा आश्रित दुई जना बालक र एक  बालिका रहेका छन् ।

 


यज्ञमूर्ति तिमिल्सिना