नाता प्रमाणित हुँन नसक्दा नागरिकता प्रमाण–पत्र पाउनबाट बञ्चित

  ०७६ पुस १५ गते

दुहुँ गाउँपालिका – ३ बाटमुनी ब्रह्मदेवकी ५६ वर्षीय पार्वती लोहारको विवाह दर्ता र नाता प्रमाणित हुन नसकेपछि  उहाँ नागरिकता पाउनबाट बञ्चित हुनु भएको छ ।

१७ वर्षअघी बैदेशिक रोजगारीका लागि भारत गएका पति शंकर लुहार घर नफर्किनु र सुसुराले नाता प्रमाणित गर्न अस्विकार गरेपछि पार्वती नागरिकता पाउनबाट बन्चित हुनु भएको हो ।

११ वर्षको उमेरमा वैवाहिक जिवनमा बाधिनु भएकी लोहारका दुई छोरी र एक छोरासमेत रहेका छन् ।

ससुरा  धनुवा लुहारले सहयोग गरेका कारण जेठो छोरा २६ वर्षीय राजु लोहारलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको भए पनि आफू र दुई ओटा छोरीको नाता प्रमाणित गर्न ससुराले असहयोग गरेका कारण आफूहरू नागरिकता पाउनबाट बन्चित भएको पार्वतीले दुखेसो पोख्नु भयो ।

पार्वती लुहारको २०२० भदौ १५ गते जन्म भएको भनेर दुहुँ गाउँपालिका –१ पिपलचौरीको वडा कार्यालयले प्रमाणित गरी दिएको भए पनि १७ वर्षदेखि पति शंकर लुहार घर नफर्किएका कारण उहाँको विवाह दर्तासमेत हुन सकेको छैन् ।

बैदैशिक रोजगारका लागि भारत गएका पति कहाँ कुन अवस्थामा हुनु हुन्छ  आफूलाई कुनै जानकारी नभएको पार्तती लुहारले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘बच्चामै घर परिवारले विवाह गरी दिए । उतिबेला विवाह दर्ता गर्नु पर्छ भन्ने जानकारी थिएन् । नागरिकता बनाउनु पर्छ भनेर थाहाँ समेत भएन् । बुढेसकाल लागेपछि नागरिकता बनाउनु पर्छ भन्ने थाहाँ पाए । नागरिकता नभएका कारण बुढेसकालमा बृद्ध भत्ताबाट पनि बन्चित हुनु पर्ने भयो । विवाह गरेको केही वर्षसम्म पतिले पनि विवाह दर्ता र नागरिकता बनाउने बारेमा जानकारी नै दिनु भएन् । अहिले समस्या झेल्नु पर्‍यो ।’

गत भदौ महिनामा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन गएको भए पनि जिल्ला प्रशासन कार्यालयले नाता प्रमाणित विना नागरिकता नबन्ने बताएपछि अहिले नाता प्रमाणित गर्नका लागि जिल्ला अदालत धाउनु परेको उहाँले बताउनु भयो ।

वार इकाइ,दार्चुलाका सदस्य गगनसिह धामीले पार्वती लोहार जस्तै जिल्लाका अधिकाङ्स महिलाका पति वर्षौदेखि विदेशबाट घर नफर्कि वेपत्ता भएका कारण उहाँहरू नागरिकता बनाउनबाट बञ्चित हुदै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘जिल्लाकै बासिन्दा हुन् । नेपाली भन्ने सबैलाई जानकारी छ । वडा कार्यालयले पनि गाउँकै महिलाको नागरिकता बनाउन सहजीकरण गरि दिनु पर्ने हो । तर, वडा कार्यालयहरूले पनि लापरवाही गर्ने गरेको छ ।’

दुहुँ गाउँपालिका – ३ का वडा अध्यक्ष लालबहादुर बमले पार्वती लुहारको विवाह दर्ता प्रमाण–पत्र नभएको र उहाँको पति पनि लामो समयदेखि सम्पर्कमा नआएको कारण नाता प्रमाणित तथा नागरिकता प्रमाण–पत्र प्राप्तिका लागि सिफारिस गर्न नसकिएको बताउँनु भयो ।

जिल्ला अदालत,दार्चुलाका न्यायधिस गिरीराज गौतमले नाता कायम गरी पाउँ पनि महिलाले निवेदन दिएको बताउँदै नाता प्रमाणित प्रक्रिय अगाडी बढेको र छिट्टै महिलाले नाता प्रमाणित प्रमाण–पत्र पाउने बताउँनु भयो ।

प्रमुख जिल्ला अधिकारी  यदुनाथ पौडेले नेपाली नागरिकले २०४६ साल अगाडी नै स्थानीय नागरिकसँग विवाह गरेको अवस्थामा वाडा कार्यालयले सिफारिस गरी दिएको खण्डमा नागरिकता प्रदान गर्न सक्ने बताउँनु भयो ।

उहाँले भन्नु भयो – ‘पार्वती लुहारको ०४६ साल अगाडी नै विवाह गरेको हो र उहाँको जन्म दर्ता प्रमाणित स्थानीय तहबाट गरिएको भए नागरिकता दिन समस्या हुदैन् ।’

नागरिकता ऐन २०६३ को दफा ४ मा २०४६ साल चैत मसान्तसम्म नेपाल  सरहद भित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्तिले जन्मको आधारमा नेपालको नागरिक हुने व्यवस्था गरेको छ ।

 

 


नरेन्द्रसिह कार्की