नागरिकता बनाउन नसक्दा सरकारी सेवासुविधाबाट वञ्चित

  ०७६ मङ्सिर ५ गते

खप्तड छेडेदह गाँउपालिका–२ की ६० वर्षीया दुरपति सार्कीको परिवारले नागरिकता नपाँउदा सरकारी सेवासुविधाबाट वञ्चित हुनु परेको छ ।

दुरपतिको पनि नागरिकता बनेको छैन । २५ वर्षीय छोरी मना सार्की र २० वर्षीय दृष्टिविहिन छोरा तेज सार्कीको पनि नागरिकता बनाउन नसकिएको दुरपतिले बताउनुभयो ।

नागरिकता नभएका कारण दुरपतिले बृद्ध भत्ता पाउनुभएको छैन भने दृष्टिविहीन छोराले आपाङ्गता भत्ता पाउनु भएको छैन ।

१५ वर्ष अगाडि दुरपतिका पतिले अर्को विवाह गरेदेखि उहाँ माइती घरमा बालबच्चा सहित बस्दै आउनुभएको र हालसम्म पतिसँग कुनै सम्पर्क नभएका कारण नागरिकताका लागि आवश्यक प्रमाण नपुग्दा नागरिकताबाट वञ्चित भएको वडा अध्यक्ष मीनबहादुर शाहीले बताउनुभयो ।

आर्थिक अवस्थामा निकै कमजोर दुरपतिले पटकपटक नागरिकताका लागि प्रयास गरेको भए पनि नागरिकता पाउन नसकेको बताउनुभयो ।

दुरपतिले बझाङको खप्तड छान्ना गाउँपालिका–६ बिणाका मदन सार्कीसँग विवाह गर्नुभएको थियो । पतिले अर्को बिवाह गरेपछि बालबच्चासहित उहाँ १५ वर्षदेखि बाजुरास्थित माइती घरमा बस्दै आउनुभएको छ ।

१५ वर्षदेखि पति सम्पर्कमा नरहेको र नागरिकता बनाउनका लागि पतिको नागरिकता र बसाइसराई चाहिने स्थानीय सरकारले भनेपछि नागरिकताविहीन हुनुपरेको पीडित दुरपतिले दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो–‘१५ वर्ष अगाडि श्रीमानले अर्को विवाह गरेपछि माइती घर आएँ । त्यसपछि नत श्रीमानले नै हाम्रो खोजी गर्नुभयो न मैले नै खोजी गरेँ । अशिक्षत भएका कारण नागरिकता कसरी बन्छ भन्ने थाहा भएन । आफूसँग नगरिकता नभएका कारण छोराछोरीको जन्मदर्ता र नागरिकता बनाउन सकिनँ । अहिले हामीले दुःख पाइरहेका छौँ ।’

छोरा तेज तीन वर्षको हुँदा दादुरा रोगबाट ग्रसित भएपछि दुष्टिविहीन भएको दुरपतिको भनाइ छ । नागरिकता नभएकै कारण राज्यबाट पाउने अपाङ्ग भत्ताबाट वञ्चित हुनुपरेको दुरपतिले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले पतिको नागरिकता तथा बसाइसाराईको प्रमाण–पत्र स्थानीय तहबाट सिफारिस गरेर ल्याएको अवस्थामा नागरिकता दिन सकिने बताउनुभयो ।

m
m

पदमबहादुर सिंह