नवलपरासी वर्दघाट सुस्ता पूर्व अस्पताल नहुँदा बिरामी मारमा

  ०७५ भदौ ११ गते

नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा जिल्ला अस्पताल नहुँदा जिल्लाका सर्वसाधारणहरू उपचारको लागि अन्य जिल्ला पुग्नु पर्ने बाध्यता रहेको छ ।

नयाँ जिल्लाको रूपमा स्थापना भएको एक वर्षभन्दा बढी हुँदा समेत जिल्ला अस्पताल स्थापना हुन सकेको छैन । नवलपुरमा आईसियु कक्ष सहितको अस्पताल समेत नहुँदा यहाँका सर्वसाधारणहरू समान्य बाहेक सबै जसो उपचारका लागि चितवन पुग्नु पर्छ ।

स्वास्थ्य मन्त्रालयमा जिल्ला अस्पताल स्थापनको लागि पहल भएपनि हालसम्म जिल्ला अस्पताल स्थापना गर्न नसकिएको सरोकारवालाहरू बताउँछन् ।

जिल्लाको सदरमुकाम कावासोती नगरपालिकामा रहेको मध्यविन्दु सामुदायिक अस्पताल र देवचुली नगरपालिकामा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र मध्ये एकलाई जिल्ला अस्पतालको रूपमा स्थापना गर्न नागरिक समाजका अगुवाहरू पटकपटक स्वास्थ्य मन्त्रालय डेलिगेशनमा पुगेपनि हाल सम्म जिल्ला अस्पताल स्थापन हुन सकेको छैन ।

मध्यविन्दु सामुदायिक अस्पताललाई जिल्ला अस्पतालको रूपमा स्थापनको लागि जिल्लाका सबै सांसदहरूको ध्यानाकर्षण गराएको मध्यविन्दु सामुदायिक अस्पताल विकास समितिका अध्यक्ष चेतनाथ पोख्रेलले बताए । यो अस्पताल ५० सैयाको छ ।

जिल्ला अस्पताल स्थापनाको लागि स्वास्थ्य मन्त्रालय पुगेपनि केन्द्रबाट सबै अधिकार प्रदेश सरकारलाई दिएको र प्रदेश सरकारमा नै पहल गर्न भनेकाले अहिले प्रदेश सरकारसँग पहल गर्ने काम भइरहेको उनले बताए ।

देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको दुम्कौली प्राथमिक स्वाथ्य केन्द्रलाई पनि सरकारी अस्पताल बनाउनुपर्छ भन्ने माग अस्पताल प्रशासन र स्थानीयको छ । लामो समयबाट सेवा प्रदान गर्दै आएको र स्वास्थ्य केन्द्रको स्वास्थ्य सेवा समेत गुणस्तरीय रहेकाले यसलाई जिल्ला अस्पताल बनाउनुपर्ने भन्दै यहाँबाट समेत डेलिगेशनको लागि स्थानीय जनप्रतिनिधि सहितको टोली स्वास्थ्य मन्त्रालय पुगेको थियो ।

नवलपरासी पूर्व नवलपुर अत्याधिक दुर्घटना हुने जिल्ला हो । यहा सरदर दिनको दुईदेखि चार वटासम्म दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय नवलपुरको तथ्याङ्कले देखाउँछ । दुर्घटनामा सामान्य बाहेक मध्यम र गम्भीर घाइतेलाई चितवनको भरतपुर नै लैजानुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख लक्ष्मणबहादुर शाही बताउँछन् ।

यस क्षेत्रमा कुनै पनि घटना/दुर्घटना भएमा कावासोती नपा-१६ डण्डाको मध्यविन्दु सामुदायिक अस्पतालमा पठाउने गरिएको छ । मध्यविन्दु अस्पतालले सामान्य खालका घटना बाहेक अन्य सबै घटना भरतपुर नै रिफर गर्ने गरेको छ ।


तिर्थराज डुम्रे