नवलपरासीमा पिकअपमा आगजनी, अन्यत्र शान्तिपूर्ण प्रचार

  ०७४ असार ७ गते

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ५ का ६ ओटै जिल्लामा चुनावी अभियान तीव्र रूपमा सञ्चालन भइरहेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार असार ६ गते बिहान नेकपा एमालेले चुनाव प्रचारमा प्रयोग गरेको लु १ च ६८४० नम्बरको पिकअप भ्यानमा अज्ञात समूहले आगजनी गरेको छ । बर्दघाट नपा-४ बर्दघाटमा पार्किङ गरेर राखेको गाडीमा अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।

उक्त घटनाको अनुसन्धान भइरहेको तथा हालसम्म कुनै पनि पक्षले घटनाको जिम्मा नलिएको प्रहरीले जनाएको छ ।

गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र रुपन्देही जिल्ला प्रतिनिधिका अनुसार ती जिल्लाहरूमा निर्वाचनमा भाग लिने दलहरू शान्तिपूर्ण रूपमा निर्वाचन प्रचारप्रसार अभियानमा ब्यस्त रहेका छन् ।

इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अनुगमन र पर्यवेक्षणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बुटवलमा मानव अधिकारकर्मी तथा पर्यवेक्षक गर्ने सङ्घ-संस्थाहरूबिच समन्वय बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रिय कार्यालय बुटवलको समन्वयमा रूपन्देहीमा स्थानीय तहको निर्वाचनमा अनुगमन तथा पर्यवेक्षण गर्ने संस्थाहरू इन्सेक, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव), नेपाल मानव अधिकार सङ्गठन, नेपाल बार एशोसिएशन, नियोकलगायतका संस्थाहरू र सञ्चारकर्मीहरूबिच स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा मतदाताहरूले मतदान गर्ने वातावरणको सिर्जना गर्नका लागि राजनीतिक दलहरूलाई आग्रह गर्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाईँले बैठकमा विगतका निर्वाचनमा पर्यवेक्षको भूमिका निर्वाह गर्ने सङ्घसंस्थाहरू शहर केन्द्रित र शहरमा मात्र बाक्लो उपस्थिति हुने, कुनै स्थानमा पर्यवेक्षक नै नहुने गरेको स्मरण गर्दै आगामी असार १४ गते हुन गइरहेको निर्वाचनमा सबै ठाउँमा पर्यवेक्षकहरूको सहभागिता हुनुपर्ने बताए ।

आयोगका निमित्त प्रमुख बुद्धनारायण साहनीले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि सबै पर्यवेक्षकहरूले स्वच्छ निर्वाचनलाई ध्यान दिनुपर्ने बताए ।


इन्सेक क्षेत्रीय कार्यलय, पोखरा