नवजात शिशुलाई फालेको आरोपमा आमा गिरफ्तार

  ०७६ जेठ २६ गते

उर्लाबारी नगरपालिका–६  स्थित मावाखोलामा नवजात शिशु बेवारिसे अवस्थामा छाडेर भागेको आरोपमा इलाम माङसेबुङ गाउँपालिका–६ स्थायी घर भई उर्लाबारी नगरपालिका–६ मा बस्दै आएकी ३० वर्षीया आमा माया राईलाई प्रहरीले जेठ २४ गते गिरफ्तार गरेको छ ।

०७५ चैत २५ गते मावाखोलाको किनारमा नवजात शिशु फालेको आरोपमा आरोपित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए । राईलाई प्रहरीले उर्लाबारी–५ हाटखोलाको शुक्रबारे बजारबाट गिरफ्तार गरेको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले गत जेठ २४ गते उनलाई गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडी बढाएको समेत डिएसपी श्रेष्ठले बताए ।

जिवितै अवस्थामा शिशुको उद्दार गरी इलाका प्रहरी कार्यालय उर्लाबारीले गोदावारी अस्पताल उर्लाबारीमा उपचारार्थ पठाएको थियो ।

शिशुलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएपछि राई आफैँ अस्पतालमा उपस्थित भएकी थिइन् । तर, चैत २८ गते उपचारका क्रममा बालकको मृत्यु भएपछि उनी फरार भएकी थिइन् ।


इन्दिरा भट्टराई