नचिनेका व्यक्तिहरुको समूहले छुरा प्रहार गरी एकको हत्या

  ०७५ चैत ८ गते

सुनसरीको धरान उपमहानरपालिका ७ बगैचालाइनमा चैत ७ गते नचिनेका व्यक्तिको समूहले छुरा प्रहार गरी धरान उपमनपा–८ का २० वर्षीय निमा तामाङको हत्या गरेको प्ररहरीले जनायो ।

सुरुमा छुरा हानाहान भएकाले दुई समूहबीच झगडा भएको र सो क्रममा तामाङको मृत्यु भएको जनाइएको छ ।

नचिनेका समूहका व्यक्तिहरुको छुरा प्रहारबाट घाइते भएका तामाङको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत ७ गते साँझ साढे ५ बजे निधन भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । छुरा प्रहारबाट धरान–८ कै १७ वर्षीय मिलन बिक घाइते भएका छन् ।

उनको छातीमा छुराको सामान्य चोट लागेको छ । मृतक तामाङको भने छातीको दाहिने भागमा छुरी प्रहार भएको थियो । घटना चैत ७ गते साढे ३ बजेतिर भएको हो ।

घटनामा चार जनाको समूहले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । नाम वतन नखुलेका उनीहरू फरार रहेकाले प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । धरान–७ शान्तिपथमा पनि ती अपरिचित युवा समूहबीच झडप भएको थियो ।

शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम चैत ८ गते गरी परिवारको जिम्मा लगाएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ ।


जयकृष्ण यादव