नगरप्रमुखमाथि कार्य कक्षमै हातपात, आरोपित गिरफ्तार

  ०७७ जेठ ६ गते

पुर्चौडी नगरपालिकाका प्रमुख ५० वर्षीय रणबहादुर कुँवरलाई जेठ ५ गते सोही नगरपालिका – २ महादेवस्थानका २९ वर्षीय पुस्कर धानुक, ३४ वर्षीय रमेस धानुक र २५ वर्षीय चन्द्र भण्डारीले कार्य कक्षमै गएर हातपात गरेको आरोपमा प्रहरीले जेठ ५ गते राती गिरफ्तार गरेको छ ।

पुचौँडी नगरपालिकाको इलाका हुलाक कार्यालयमा कार्यरत ५४ वर्षीय बाबु दिलबहादुर धानुकलाई जेठ ४ गते नगरप्रमुख कुँवरले कुटपिट गरेको भन्दै दिलबहादुरका छोराहरुसँगै स्थानीय नगरप्रमुखको कार्य पक्षमै आएर नगरप्रमुखलाई कुटपिट गर्नुको साथै कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताउनु भयो ।

नगरप्रमुख कुँवरमाथि जेठ ५ गते अपरान्ह कार्य कक्षमै कुटपिट भएको पुर्चौडी नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले बताउनु भयो । नगरप्रमुखलाई कुटपिट गर्ने समुहले कार्यालयको कम्प्युटर, ल्यापटप ,कुर्सी र टेबुल समेत तोडफोड गरेको नगरप्रवक्ता धामीले बताउनु भयो ।

हुलाक शाखामा कार्यरत दिलबहादुरले जेठ ४ गते मदिरा सेवान गरेको समयमा नगरप्रमुख कुँवरले कुटपिट गरी पावरको भरमा दिलबहादुरमाथि नै दुव्र्यवहारको मुद्दा चलाएपछि जेठ ५ गते नगरपालिकामा गएर किन यसरी हातपात गरेको भनेर भन्दा नगरप्रमुख कुँवरले दुव्र्यवहार गरेपछि झगडा भएको आरोपित पक्षको आरोप छ ।

मदीरा सेवन गरेर नगरप्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा दिलबहादुरलाई जेठ ४ गते नै गिरफ्तार गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको डिएसपी पाण्डेले बताउनु भयो । नगरप्रमुखलाई हातपात गरेको आरोपमा दिलबहादुरका दुई छोरा र एक स्थानीयलाई पनि गिरफ्तार गरेर इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी पाण्डेको भनाइ छ ।

नगरप्रमुखलाई कुटपिट गर्नेहरुलाई आफूहरुले पनि कुटपिट गर्ने भन्दै जेठ ५ गते राती नगरप्रमुख पक्षका व्यक्तिहरु जबर्जस्ती पुचौँडी प्रहरी चौकीमा आएपछि नगरप्रमुख पक्षका व्यक्ति र प्रहरीबीच झडप समेत भएको डिएसपी पाण्डेको भनाइ छ ।

नगरप्रमुखमाथि हातपात भएको विषयले यस क्षेत्रमा सुरक्षा चुनौती देखिएपछि डोटीे दिपायलमा रहेको प्रहरीको प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनु भयो ।

सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिपछि अहिले भने सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


नरी बडु