नगरपालिकाले घर नबनाइदिएको गन्धर्भ परिवारको गुनासो

  ०७६ वैशाख २७ गते

प्यूठान नगरपालिकाले जग्गा खरिद गरेको  दुई वर्ष बित्दा समेत घर नबनाएको गन्धर्भ परिवारले गुनासो गरेका छन् ।

प्यूठान नपा–३ मा रहेका सात घर परिवारलाई नगरपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत ०७४ सालमा जग्गा खरिद गरिदिएको थियो ।

उक्त जग्गामा नगरपालिकाले घर बनाइदिने भनेपनि अहिलेसम्म बनइदिएको छैन । हाल आएर नगरपालिकाले स्वयम् व्यक्तिले घर बनाउनु पर्ने भनेपछि गन्धर्भ परिवार समस्यामा परेका हुन् ।

आफूले घर बनाए पनि अन्य परिवारले घर बनाउन नसकेको रामबहादुर गन्धर्भले बताए । अहिले आएर नगरपालिकाले घर नबनाउने र जस्तापाता मात्र दिने बताउन थालेको छ ।

वर्षा सुरू हुने समय आइसक्दा समेत जस्तापाता उपलब्ध नगराएको रामबहादुरले गुनासो गरे । आफूहरूले घर बनाउ सक्ने आर्थिक अवस्था नभएको सुरविर गन्धर्भले बताए ।

प्यूठान नगरपालिका–३ का वडा अध्यक्ष प्रम हमालले नगरपालिकाले उनीहरूलाई जग्गा खरिद गरी घर बनाइदिने भनेपनि अहिले घर निर्माण गर्न आर्थिक अभाव रहेको बताए ।

उनले आफ्नो क्षमता अनुसारको घर निर्माण गर्न भनिएको छ । नगरपालिकाले जस्तापाता उपलब्ध गराउने उनले बताए । जस्ता पाताकोे लागि नगरपालिकाले टेण्डर गरिसकेको हमालले बताए ।


रविन्द्र पाण्डे