नगरपालिकाको सिङ्गो वडामै माध्यामिक विद्यालय नहुँदा बालबालिकाहरू मर्कामा

  ०७५ पुस १५ गते

नगरपालिका भनेपछि सामान्यतय आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । तर, रोल्पा नगरपालिकाको एउटा वडा यस्तो छ जहाँ माध्यामिक विद्यालय नहुँदा यहाँका विद्यार्थीहरू माध्यामिक तहको अध्ययनका लागि नगरपालिकाबाट गाउँपालिकामा जानुपर्ने बाध्यता रहेको छ ।

रोल्पा नगरपालिकाको ५ नम्बर वडामा एउटा पनि माध्यामिक विद्यालय नहुँदा यहाँका बालबालिकाहरू माध्यामिक तहको अध्ययनका लागि ३ घण्टा हिँडेर अन्य गाउँपालिकामा रहेको विद्यालयमा जानुपर्ने बाध्यता रहेको छ ।

सो वडाको लाल्टीबाङ, कोछाप, बाजाबाङ र जेदबाङका बालबालिकाहरू अध्ययनका लागि दैनिक ३ घण्टा हिँडेर सुनिल स्मृति गाउँपालिका–२ हरिगाउँमा रहेको माध्यामिक विद्यालयमा जाने गरेका छन् ।

साबिकको जेदबाङ गाविसमा रहेको यो वडामा विद्यालय नै नभएको भने होइन् । उक्त वडामा ६ ओटा प्राथमिक र दुई ओटा आधारभूत तहका विद्यालय छन् ।

माध्यामिक विद्यालय नजिक नहुँदा यहाँका कतिपय बाललिबाहरूले आधारभूत तहको मात्र अध्ययन गरी इँटाभट्टा र वैदेशिक रोजगारीमा जाने गरेको ज्योति प्रकाश आधारभूत विद्यालय कोछापका प्रधानाध्यापक बलभद्र महराको भनाई छ । ‘बीचमा माडी खोला छ ।’–महराले भने–‘वर्षायाममा त बालबालिकालाई खोलाको डरले विद्यालय पठाउनै मन लाग्दैन ।’

एउटा विद्यालयमा कक्षा ९ सञ्चालनको प्रयास भइरहेको भएता पनि चन्दा उठाएर शिक्षक पाल्न कठिन भएको स्थानीयको गुनासो छ ।

यो वडामा सडक, विजुली, खानेपानीको पनि सहज पहुँच नहुँदा नगरपालिकाले ति पूर्वाधार विकासमा प्राथमिकता दिने गरेको नगर प्रमुख पूर्ण केसीको भनाई छ ।

‘विकासका कामहरू विस्तारै भइरहेको छ ।’–केसीले भने–‘पहिले यो वडामा सडक थिएन अहिले सडक पुगेको छ ।’ विद्युत पनि विस्तार भइरहेकोले सबै क्षेत्रको विकास एकैचाटी गर्न नसकिने उनले बताए ।


माधवकुमार ओली