नगरकोट सडक निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती पोष्टर टाँसेर ठेकेदारको विरोध

  ०७६ कात्तिक २९ गते

दुईवर्षमा सम्पन्न गर्नुपर्ने भक्तपुर नगरकोट सडक निर्माण सुरू भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि स्थानीयबासिन्दादेखि पर्यटक समेतले दैनिक सास्ती भोग्ने गरेका छन् ।

कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर मुख्य सडक विस्तारमा ढिलाई हुँदा स्थानीयले सात वर्षदेखि सास्ती खेप्नु परेको हो ।

२०७१ जेठमा निर्माण सुरू गरेको शैलुङ्ग कन्ष्ट्रक्सन प्रा.लि.ले आर्थिक वर्ष ०७२/०७३ मै निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरेपनि हालसम्म सडक विस्तारको काम पुरा हुन सकेको छैन ।

एक्जिम बैङ्क इन्डियाको १ प्रतिशत सहुलियत व्याजमा ३१ करोड ५२ लाख ९ हजार रुपियाँ ऋण सहयोगमा सडक विस्तार कार्य सुरू गरिएको थियो ।

०७४ मङ्सिरसम्ममा आयोजना सम्पन्न गरिसक्ने भन्दै निर्माणको अवधि थप गरेपनि नसकेपछि चार पटक समय थप गरिसकेको छ ।

तरपनि सडक निर्माणले पूर्णता नपाएपछि सडकमा भएको खाल्डोले दुर्घटना निम्त्याएको छ भने स्थानीय बासिन्दाले वर्षामा हिलो र हिउँदमा धूलाम्मे भएर सास्ती खेप्नु परेको छ ।

पर्यटन व्यवसाय धरापमा
पर्यटकीय क्षेत्र नगरकोटको सडक विस्तारमा भएको ढिलाइका कारण पर्यटन व्यावसाय समेत धरापमा परेको छ ।

सडक खनेर जथाभावी छोड्दा साँघुरो र धुलाम्मे सडकका कारण पर्यटन व्यावसाय समेत धरापमा परेको बताउँदै पर्यटन व्यवसायी गोकुल लामिछानेले सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई पनि प्रत्यक्ष असर पार्ने बताए ।

काठमाडौँबाट नगरकोट आउनुअघि नै पर्यटक तथा ट्राभल एजेन्सीले सडकको बारेमा सोध्ने गरेको बताउँदै उनले सडक निर्माण सम्पन्न भएको छैन भन्ने जानकारी पाएपछि कतिपय पर्यटकले नगरकोट आउने कार्यक्रम नै रद्ध गर्ने गरेको बताए ।

विगतका वर्षमा भन्दा यसवर्ष सडक अति जीर्ण हुँदा र निर्माण सम्पन्न पुरा नहुँदा ५० प्रतिशत पर्यटक घटेको पर्यटन व्यवसायीको गुनासो छ ।

पर्यटन व्यावसायीले निर्माण कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न ताकेता गर्दा पनि अटेर गरेको व्यवसायीको गुनासो छ ।

सडकको धूलोले घरघरमा बिरामीः स्थानीय
सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती मात्रै व्यहोरेका छैनन्, घरघरमा बिरामी पर्न थालेका छन् । सडक निर्माणका क्रममा निस्कने धुलोका कारण यहाँको जनजिवन समेत कष्टकर बनेको छ ।

‘सडक निर्माणमा भएको ढिलाइ र लापरवाहीले घरघरमा मानिस बिरामी पर्न थालेका छन् । अत्यधिक धूलो उड्ने गर्दा घरबाट निस्किएको मानिस भक्तपुर पुग्दा चिन्नै नसक्ने हुन्छन् । धुलोकै कारण दिनानुदिन गाउँमा बिरामीको सङ्ख्या बढ्दो छ ।’–स्थानीय धनबहादुर लामाले भने ।

सडक निर्माणका क्रममा निस्केको धुलोका कारण बालबालिका र ज्येष्ठ नागरिकमा स्वासप्रस्वाससम्बन्धी रोग लाग्न थालेको उनको भनाई छ ।

सङ्घर्ष समिति गठन
दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केको पाटी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि नगरकोट सडकबाट पीडित बनेका यहाँका बासिन्दाले गत वैशाख २ गते २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलन समेत गर्दै आएका छन् ।

यो सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरूको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सहसंयोजक र रमेश अधिकारी सचिव रहेको २ सय ५१ सदस्यीय समिति गठन गरेर दबाबमूलक कार्यक्रम गर्दै आएपनि खासै सुधार भएको छैन ।

सङ्घर्ष समितिले आफ्नो सङ्घर्षको कार्यक्रम अन्तर्गत नगरपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार, सङ्घ तथा प्रदेश सांसद, शैलुङ कन्ष्ट्रक्सनको प्रोपाइटर शारदाप्रसाद अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माणमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गर्दै यसअघि नगरपालिकादेखि प्रधानमन्त्रीसम्म ज्ञापनपत्र बुझाइसकेको सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिए ।

ठेकेदारको विरोध
सडक निर्माणले पूर्णता नपाएपछि भत्केको पाटीदेखि नगरकोटसम्मका सडकको दायाँबायाँ, सार्वजनिक स्थान र यहाँ चल्ने सवारीहरूमा शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो टाँसेर स्थानीयले विरोध गरेका छन् ।

भत्केकोपाटी नगरकोट सडक छिटो निर्माण सम्पन्न गर्न दबाब दिन पोष्टर टाँसेर विरोध गरेको स्थानीयले बताएका छन् ।

photo20191115bhaktapur1

photo20191115bhaktapur2

photo20191115bhaktapur3

photo20191115bhaktapur5

photo20191115bhaktapur6


रमेश गिरी