नख्खु कारागारमा कैदिबन्दीहरूबिच कुटाकुट हुँदा एक जनाको मृत्यु

  ०७६ साउन १७ गते

नख्खु कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका दुई जना कैदीबन्दीहरूबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

 

साउन १७ गते भएको झगडाको क्रममा ३५ वर्षीय पूर्णबहादुर राजीलाई ५० वर्षीय पवनकुमार महतोले भुइँमा बिच्छ्याएको ब्लक इँटाले हिर्काउँदा राजीको मृत्यु भएको हो ।

 

ब्लक इँटाले हिर्काउँदा घाइते भएका राजीलाई तत्कालै काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएकोमा साढे २ बजे उनको मृत्यु भएको नख्खु कारागारका जेलर बेदप्रसाद अर्यालले बताए ।

 

बर्दिया जिल्ला बाँसढी–७ का राजी ०७३ पुस २२ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका थिए भने सर्लाही जिल्ला गौरीशङ्कर–९ का महतो ०७४ कात्तिकदेखि कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेको कारागार प्रशासनले जनाएको छ ।

 

आरोपित महतोलाई महानगरीय ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिइ अनुसन्धान थालेको डिएसपी एवम् प्रवक्ता नारायणप्रसाद चिमोरियाले बताए ।

 

हाल शवलाई ट्रमा सेन्टरमा राखिएको र शवको पोष्टमार्टम प्रक्रिया अघि नबढाइएको प्रहरीले जनाएको छ ।


दीपकप्रसाद घिमिरे