धार्मिक स्वतन्त्रता हनन् भएको भन्दै पीडितद्वारा आयोगमा उजुरी

  ०७६ साउन २८ गते

इलाका प्रहरी कार्यालय, फल्टुडेले साउन २० गते आफूलाई गिरफ्तार गरी जनै र टुप्पी काटेर धार्मिक स्वतन्तत्रता हनन् गरेको भन्दै चुरे गाउँपलिका–६ का ४५ वर्षीय मानसिंह धामीले साउन २८ गते राष्ट्रिय मानव अधिकार आयोग, धनगढीमा उजुरी दिएका छन् ।

चुरे गाउँपालिका–६ की वडा सदस्यसमेत रहेकी धामीकी २८ वर्षीया पत्नी हरमती ठगुन्नाले पतिले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै आएको भन्दै साउन १९ गते पतिविरूद्व प्रहरीमा उजुरी दिएपछि आरोपित धामीलाई प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, फल्टुडेका इन्स्पेक्टर माधव विसीले बताए ।

उनले भने–‘प्रहरी हिरासतभित्र आत्महत्या जस्ता अन्य दुर्घटना हुन नदिनका लागि जनै निकाल्न अनुरोध गर्‍यौँ । धामीले नमानेपछि जनै निकालेर राखिदिएका हौँ । गिरफ्तार गरिएको भोलिपल्ट धामीलाई रिहा गर्दा उनको जनै फिर्ता गरेका छौँ । प्रहरीले टुप्पी काटेको छैन । उनको धार्मिक स्वातन्त्रता हनन् गर्नका लागि गिरफ्तार गरिएको भन्ने भनाई निराधार छ ।’

जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले घटनाका बारेमा आफूलाई जानकारी नभएको बताउँदै यसका बारेमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी थप सूचना लिन आग्रह गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका निमित्त प्रमुख धनराज शाहीले पीडितको उजुरीको आधारमा सम्बन्धित सबै निकाय (जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, फल्टुडे, न्यायिक समिति, पीडित र आरोपित पक्ष)लाई पत्राचार गरिरहेको र सबैसँग छलफल गरेर सत्यतथ्य बुझ्ने बताए ।


मैनामोती चौधरी