धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

  ०७३ साउन २९ गते

लिवाङ नपा-७ धारापानीकी ६५ वर्षीया मनकुमारी महरालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा ७५ वर्षीय पति मानसिङ महरालाई प्रहरीले साउन २८ गते गिरफ्तार गरेको छ ।

पति पत्नीबीच साउन २७ गते राति सामान्य विषयमा विवाद हुँदा महराले सिरानीमा राखेको खुकुरी झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाले साउन २८ गते जिल्ला प्रहरी कार्यालय लिवाङमा उजुरी दिएपछि मानसिङलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडितको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । घाइतेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर केशव बस्नेतले जानकारी दिए । घटनाका आरोपितलाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरी अनुसन्धान गरिरहेको इन्स्पेक्टर बस्नेतले जानकारी दिए ।


माधवकुमार ओली