धारिलो हतियार प्रहार गरी मजदुरको हत्या

  ०७५ माघ १६ गते

चन्द्रपुर नपा–९ का ४७ वर्षीय रामजी माझीलाई धारिलो हतियार प्रहार गरी माघ १५ गते राति अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।

वृन्दावन नपा–६ स्थित रौतहट इँटा उद्योगमा कार्यरत मुसहर राति उद्योगमा जाने क्रममा चन्द्र्रपुर नपा–१० स्थित वालचनपुर चोक भन्दा ५०० मिटर पूर्व सडक छेउमा  हत्या गरी लाश फ्याँकिएको अवस्थामा १६ गते बिहान प्रहरीले फेला पारेको थियो ।

मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरी कच्याककुचुक्क पारिएको, दाँया गोडा भाँचिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले बताए ।

मृतक माझी र उनकी पत्नी पतसिया देवी माझी उद्योगमा नै बस्दै आएका थिए । शवको पोष्टमार्टम चन्द्रनिगाहपुर अस्पतालमा माघ १६ गते गरी थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।


कोपिला तिमल्सिना