धामी झाँक्रीको भर पर्दा मृत्यूको जोखिम

  ०७६ कात्तिक ७ गते

अन्ध विश्वासका कारण जिल्लाका बिरामी धामी झाँक्रीको भरपर्दा मृत्युसम्म हुने गरेको देखिएको छ । अदानचुलि गाउँपालिका–३ मा बस्ने २४ वर्षीय प्रदिप रोकायालाई यसै वर्षको असोज ७ गते सर्पले टोकेको भन्दै परिवारजनले सोही दिनमै धामी झाँक्रीकोमा लगे ।

सर्पले टोकेको विष झारफुक गर्दा सञ्चो हुने विश्वास गर्दागर्दै अस्पताल नलगेका कारण असोज ८ गते रोकायाको मृत्यु भयोे ।

सदरमुकाम सिमकोटबाट तीन दिनको पैदलबाटो लाग्ने अदानचुली गाउँपालिकाको भदानीकुना गाउँमा रहेको घरमा सुतिरहेको अवस्थामा राती सर्पले टोकेका उनको झारफुकको भर पर्दा मृत्यु भएको थियो ।

स्वास्थ्यचौकीमा नगई धामी झाँक्रीको भर पर्दा रोकायाको मृत्यू भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

गत साल सर्केगाड गाउँपालिकाकी ४ वर्षीया बालिका रमिता बुढालाई सर्पले टोकेपछि स्वास्थ संस्था लगेर उपचार गराउनुको साटो धामी झाँक्रीकोमा लगेपछि अन्धविश्वासकै कारण छोरीको ज्यान गएको अकलबहादुर बुढाले बताए ।

सदरमुकाम सिमकोट नजिकै रहेको खार्पुनाथ गाउँपालिका–१ का एक वर्षीय बालक विकुल रोकायालाई पनि ६ महिना अघि सर्पले टोक्यो ।

सर्पले टोकेको उपचार गराउनुभन्दा झारफुक गराउन परिवारले लगेपछि बालकको मृत्यू भएको खार्पुनाथ गाउँपालिका–१ का वडा अध्यक्ष मगुसिंह बुढाले बताए ।

सर्पले टोकेको पत्ता लागेपछि सिधै स्वास्थ्य चौकी नलगेर धामी झाँक्रीकोमा झारफुक गर्नका लागि लाने क्रम अझै रहेको र धामीले निको पार्न नसक्ने भएपछि मात्र स्वास्थ्य चौकीमा लाँदा बिरामीको मृत्यू हुने समस्या रहेको उनले बताए ।

चेतनाको अभावका कारण सर्पले टोकेर घाइते हुने अधिकांशलाई घरमै प्रारम्भिक उपचार गराउनुको साटो धामी झाँक्रीकोमा लगिएका रोकायालाई घरमै प्रारम्भिक उपचार समेत गरिएको थिएन ।

जिल्लामा अधिकांश सर्पदंशका बिरामी धामीझाँक्रीकोमा जाने क्रम कायमै रहेका कारण ज्यान जोखिममा रहने र मृत्यू हुने गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक उब्जन रोकायाले बताए ।

सर्पले टोकेर मृत्यु भएका प्रदिप रोकायाको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम सिमकोट ल्याउन तीन दिन र बाजुराको मार्तडी लैजान दुई दिन पैदल लाग्ने भएपछि आफन्तको सहमतिमा पोष्टमार्टम समेत नगरी शवको दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।


नन्द सिंह