धरान उपमहानगरपालिकाका दुई ओटा वडा डेङ्गु सङ्कटग्रस्त क्षेत्र घोषणा, १ सय ८८ जनाको उपचार

  ०७६ जेठ २४ गते

वैशाख ३० गतेयता फैलिएको डेङ्गुले धेरैलाई सङ्क्रिमत बनाएपछि धरान उपमहानगरपालिकाले वडा नम्बर ८ र १५ लाई जेठ २३ गते डेङ्गुग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रदेश १ को संसदीय समितिसँगै प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले जेठ २३ गते वडा–८ र १५ क्षेत्रमा स्थलगत अनुगमन गरी सुझाव दिएपछि दुई ओटा वडालाई डेङ्गुग्रस्त क्षेत्र घोषणा गरिएको उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बताइन् ।

डेङगुग्रस्त क्षेत्र घोषणा भएका वडामा तत्काल घरदैलो अभियान तीव्र रूपमा चलाउन निर्देशन दिइएको छ । डेङ्गु नियन्त्रणका लागि बजेटको व्यवस्था गरिएको कार्यवहाक प्रमुख भण्डारीले बताइन् ।

धरानमा फैलिएको डेङ्गुका बारेमा बुझ्ने क्रममा प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले मनसुन सुरू हुनु अगाडि नै डेङ्गुका अण्डा, लार्भा नष्ट गर्न स्वतः स्फूर्तरूपमा घर–घरका सदस्यहरूलाई सक्रिय हुन आग्रह गरेको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर भोगेन्द्र डोटेलले धरानलाई डेङ्गुग्रस्त क्षेत्र घोषणा गर्न ढिलाई भएकाले जोखिम अझ बढ्नसक्ने खतरा औँल्याए ।

उनले सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि मात्र स्थानीय सचेत हुने भएकाले डेङ्गुलाई नियन्त्रण गर्न सकिने बताए ।

२५ दिनयता फैलिएको डेङ्गुले हालसम्ममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष र ट्रपिकल वार्डमा गरी १ सय ८८ जना डेङ्गु सङ्क्रमितको उपचार भएको छ ।

डेङ्गु पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जेठ १९ गते पठाएको ५ सय थान किट सकिएकाले जेठ २३ गते थप १ हजार थान किट पठाइदिन आग्रह गरेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन शाखाले जनाएको छ ।


जयकृष्ण यादव