कर्मचारीलाई धम्क्याएको र सहकर्मी वडाध्यक्षलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २२ गते

गाउँपालिकाका कर्मचारीलाई धम्याउँदै चम्पादेवी गाउँपालिकाको कार्यालयमै सोही गाउँपालिका–७ का वडा अध्यक्ष ३६ वर्षीय सुरेश थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइटेललाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

सार्वजनिक शान्ति विरूद्धको कसुरमा आरोपितविरूद्ध मुद्दा दर्ता भएकाले उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएसपी पुष्पराज मल्लले बताए । उनले आरोपित लुइटेल हिरासतमा रहेको जनाए ।

पीडितलाई आरोपितले गत असार ३० गते कुटपिट गरेको आरोप छ । थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा साउन १ गते उजुरी गरेका थिए ।

उजुरीपछि उनी सम्पर्कमा नरहेको प्रहरीले जनाउँदै आएको थियो । उनलाई पटकपटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि साउन ५ गते उनीविरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसुरमा मुद्दा दर्ता गरेर गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र नायव सुब्बा ईश्वर ढुङ्गानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेकर्ड प्रहरीमा बुझाएका थिए ।

अडियोमा लुइटेलले थापालाई कुटेको र अरु दुई जना कर्मचारी प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुङ्गानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ ।

आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक गत असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएको पीडित थापाले बताए ।

उनले गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेको र सुरक्षाका लागि कानुनी उपचार खोजेको बताए ।

लुइटेल कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् भने थापा नेकपाका जिल्ला सदस्य हुन् । अध्यक्ष, उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको कांग्रेस र नेकपाबीच गाउँपालिकाको बजेट लगायतका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । थापा र लुइटेलबीच गाउँपालिकाका योजना लगायतका विषयमा विवाद हुने गरेको थियो ।


शिवप्रसाद ढुङ्गाना