द्वन्द्व पीडित बृद्धालाई घर हस्तान्तरण

  ०७७ साउन ७ गते

हेटौँडा उपमहानगरपालिकाले द्वन्द्व पीडित ७० वर्षीया सुभद्रामाया दर्नाललाई घर निर्माण गरिदिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौँडा उपमहानगरपालिका—९ शान्तिनगरस्थित सुकुम्बासी टोलमा निर्माण गरेको नवनिर्मित घर ०७७ साउन ६ गते द्वन्द्व पीडित दर्नाललाई हस्तारन्तरण गर्नुका साथै गृह प्रवेश पनि गराउनुभएको हो ।

द्वन्द्व पीडित दर्नाललाई हेटौँडा उपमहानगरपालिकाले १२ लाखका लागत चार कोठे घर निर्माण गरिदिएको मेयर महतले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो । गणतन्त्र स्थापना हुनअघिका सशस्त्र द्वन्द्वमा चार सन्तान बेपत्ता भएपछि उहाँ सुकुम्बासी बस्तीमा घामपानी छिर्ने कटेरोबाट १९ वर्षीय नातिनीसँग गुजारा चलाउँदै आउनु भएको थियो ।

गत वर्ष द्वन्द्व पीडित वृद्धा दर्नालबारे सञ्चारमाध्याममा समाचार आएपछि उपमहानगरको ध्यानाकर्षण भएको र उनलाई उपमहानगरले घर बनाइदिएको हो ।

काभ्रेबाट २०२२ सालमा हेटौँडा बसाईँ आउनुभएका सुभद्रामायाका पाँच छोरा र तीन छोरीसहित सन्तान आठ सन्तान थिए । तर, ०४८ वैशाख गते भएको संसदको चुनाव भए लगत्तै जेठ ५ गते बजार निस्केका उनका जेठा छोरो काजी र माहिला छोरा भक्त अझै बेपत्ता छन् ।

यसैगरी २०६० पुस २५ मा काइँलो छोरा रञ्जित र पुस २८ मा कान्छो छोरा अमृतलाई माओवादी भएको आरोपमा काठमाडौँको कपनबाट संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी बेपत्ता पारेको थियो । अहिलेसम्म पनि उनीहरूको पनि अत्तोपत्तो छैन । चार सन्तान गुमाएकी द्वन्द्व पीडित वृद्धा शुभद्रामाया अहिले बेपत्ता पारिएका कान्छो छोराकी छोरी नातिनी अस्मिनासँग बस्तै आएनु भएको छ।


पुष्पराज अधिकारी