द्वन्द्व पीडितहरूको भोगाइको पीडालाई भित्तेचित्रमार्फत सार्वजनिक

  ०७३ मङ्सिर २ गते

नेपालमा भएको सशस्त्र द्वन्द्वको घटनाका पीडितहरूको पीडाको भोगाइलाई सार्वजनिक ठाउँमा भित्तेचित्र लेखन अभियान शुरू गरिएको छ । पीडितहरूकै अगुवाइमा बर्दियाको बबई नपाको भुरीगाउँ बजारमा मङ्सिर २ गते पहिलो भित्ते चित्र लेखन कार्य सकिएको छ । सो कार्य पीडितहरूको न्यायको लागि अगुवाइ गरिरहेको द्वन्द्व पीडित समिति बर्दियाको समन्वयमा पीडितहरूको प्रत्यक्ष सक्रियतामा भएको हो ।

सशस्त्र द्वन्द्वको घटनाका पीडितहरूको भोगाइलाई भित्ते चित्र लेखन बेलायतका चित्रकार मार्टिन ट्राभर्सले संयोजन गरेका हुन् । सार्वजनिक रूपमा धेरै मानिसहरूले देख्ने ठाउँमा घरको भित्तामा बनाइएको चित्रमा पीडितहरूसँग उनीहरूको भोगाइलाई उतारिएको चित्रकार मार्टिनले बताए ।

चित्रकलाको माध्यमबाट पीडितहरूको न्यायको अभियानलाई सामाजिक रूपमा सबैको चासोको विषय बनाउन सो कार्य गरिएको द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले बताए । सशस्त्र द्वन्द्वको घटनाका पीडितहरूको भोगाइलाई चित्रमार्फत उतार्ने अभियानलाई जिल्लाको विभिन्न मुख्य सार्वजनिक ठाउँमा पनि बनाउने योजना रहेको अध्यक्ष चौधरीले बताए ।


मानबहादुर चौधरी