द्वन्द्व पीडितले राहत नपाएको गुनासो

  ०७७ कात्तिक २१ गते

दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले राहत नपाएको गुनासो गरेका छन् ।

सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचय पत्र प्राप्त गरेका तर अहिले आफू जस्ता धेरैको राहत पाउने सूचिबाट नाम हटेको द्वन्द्व पीडित उत्तरगया गाउँपालिका–२ का ३५ वर्षीय सन्तोष अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले द्वन्द्व प्रभावितका लागि सहायता गर्ने सम्बन्धी कार्य विधि २०७५ अनुरुप द्वन्द्व प्रभावित भएका परिवारलाई शिक्षा, स्वास्थ्यलगायत सिप विकासमा सहयोग गर्न विवरण माग गरे पनि आफूहरू वञ्चित भएको अधिकारीले गुनासो गर्नुभयो ।

द्वन्द्व पीडितको अधिकार रक्षाका निमित्त आवाज उठाइदिन उहाँको अनुरोध थियो । उहाँलाई तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादी कार्यकर्ताले कुटपिट तथा अपहरण गरी यातना दिएका थिए भने ०६४ को संविधानसभा निर्वाचनको समयमा समेत माओवादी कार्यकर्ताको आक्रमणबाट घाइते हुनुभएको थियो ।

उत्तरगया गाउँपालिकाका द्वन्द्व पीडित व्यक्तिहरू लगत लिन छुटेका छ । यस पालिकाका अपाङ्गता भएका तथा घाइतेले आर्थिक अभावमा उपचार गर्न सकेका छैनन् उहाँले भन्नुभयो ।

प्रदेश सरकारले पठाएको तथ्याङ्कमा उत्तरगया गाउँपालिकामा १ सय ७० जना द्वन्द्व पीडित रहेको अभिलेख भए पनि १९ जनाले मात्र गाउँपालिकामा फर्म भरेका थिए । जस अन्तर्गत नौ जनाले मात्र तोकिएको राहत रकम पाएका थिए ।

यस वर्ष पनि बाग्मती प्रदेशले सूचना निकालेपछि आवेदन दिन द्वन्द्व पीडितहरु आउन थालेको उत्तरगया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन खडकाले बताउनु भयो ।

गाउँपालिकाले सूचना जारी गरेपछि १९ जनाले आवेदन दिनेमा औषधि उपचार पाँच जना, शिक्षा सात जना र सिप सिकाईसम्बन्धी सात जना थिए । जस मध्ये ३० हजार रुपियाँ दरले स्वास्थ्य उपचार खर्च पाँच जनाले, शिक्षा अन्तर्गतका सात जनाले १२ हजार रुपियाँका दरले राहत पाएका थिए ।

सिपमुलक तालिम भने तालिम दिने फर्मसँग संझौता गरेर गर्नुपर्ने भएकोले त्यस्तो फर्मको पनि आवेदन नपरेकोले द्वन्द्व पीडितको नाममा बजेट खर्च हुन सकेन ।

स्थानीय शान्ति समितिको कार्यालय हुँदासम्म राहतका लागि जिल्ला धाइन्थ्यो । अब त समिति पनि खारेज भयो, उत्तरगया गाउँपालिका–३ का द्वन्द्व पीडित आकाश तामाङले भन्नुभयो– “स्थानीय सरकार छ राहत माग्न कहाँ जाने ?” गाउँमा ऋण काढेर र जग्गा बेचेर जीविका चलाइरहेको उहाँको गुनासो छ ।


हेमनाथ खतिवडा